यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। एक वर्षमा १३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको कार्यालयले १३ करोड ८२ लाख ३ हजार ५१७ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिए। कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा २ करोड ४९ लाख ४१ हजार ८३९ बढी राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २२.०२ प्रतिशतले वृद्धि हो। कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व सङ्कलन गरेको थियो।
कार्यालयले सवारी साधन वार्षिक करबाट ९ करोड ९६ लाख ३ हजार ४४२ सङ्कलन गरेको छ। सवारी दर्ता/नामसारी/नवीकरणबाट ७२ लाख ३ हजार ५५५ सङ्कलन गरेको छ। त्यस्तै, व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट १ लाख २८ हजार २०० सङ्कलन भएको कार्यालय प्रमुख मैनालीले जानकारी दिए। त्यस्तै आयकरबाट ३७ लाख ८५ हजार ५९० सङ्कलन भएको छ। कार्यालयले चालक अनुमतिपत्रबाट १ करोड ४३ लाख १७ हजार ३० सङ्कलन गरेको छ। त्यसैगरी नेपाल-भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट १ करोड ६ लाख १७ हजार ३० राजस्व सङ्कलन भएको छ। इलाम सदरमुकामस्थित कार्यालय र पशुपतिनगरबाट रुट पर्मिट र पटकेबाट १ करोड ३० लाख ७२ हजार २३० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा ५१० र मोटरसाइकलको २१० राजस्व लिने व्यवस्था गरेको थियो। यातायात व्यवस्था सेवा कार्यालयकै मातहतमा अघिल्लो वर्ष पशुपतिनगरमा राजस्व असुली केन्द्र स्थापना भएको थियो। यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्ला पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीसमेत सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख मैनालीले बताए।




.gif)





