images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • १ अर्ब रुपैयाँभन्दा बढीको तेल बेच्ने...

१ अर्ब रुपैयाँभन्दा बढीको तेल बेच्ने यी ९ पेट्रोल पम्प,कुनले कति नाफा कमाए ?

१ अर्ब रुपैयाँभन्दा बढीको तेल बेच्ने यी ९ पेट्रोल पम्प,कुनले कति नाफा कमाए ?

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौं । गत आर्थिक वर्षमा देशभरका पेट्रोल पम्पमध्ये ९ वटा पेट्रोल पम्पले सबैभन्दा बढी इन्धनको कारोबार गरी अर्ब रुपैयाँको क्लबमा पुग्न सफल भएका छन् ।नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार देशभर सबैप्रकारका पेट्रोल पम्प गरी १ हजार ७ सय ३६ वटा पम्प सञ्चालनमा छन् ।यसमध्ये साधारण १ हजार ५ सय ४८ वटा, नमूना ५१ वटा र दुर्गम क्षेत्रमा ड्रममा राखेर बिक्री गर्ने प्याक्ड बिक्रेता १ सय ३७ वटा छन् ।

    images
    images

    गत आर्थिक वर्ष २०८१/८२ मा देशभरकै पम्पहरुमध्ये ९ वटा पम्पले सबैभन्दा बढी इन्धनको कारोबार गरेका छन् । जसमध्ये धादिङको भैरवी इन्टरप्राइजेजले गत आर्थिक वर्षमा सबैभन्दा बढी इन्धनको कारोबार गरेको छ । यो पम्पले १ अर्ब ८० करोड ४९ लाख ७५ हजार रुपैयाँको डिजेल र पेट्रोलको कारोबार गरेको छ ।यसपछि चितवनको कैलाश आयल डिस्ट्रिव्युटरले १ अर्ब ६४ करोड ६८ लाख ५६ हजार रुपैयाँको कारोबार गरेको छ । त्यस्तै ललितपुरको साझा सेवा सहकारीले १ अर्ब ४१ करोड ७१ लाख ५१ हजार रुपैयाँको पेट्रोलियम पदार्थ कारोबार गरेको छ ।

    यस्तै बाराको पथलैयास्थित प्रहरी कल्याण कोषले १ अर्ब २४ करोड १७ लाख, भक्तपुरको भक्तपुर फ्युल सेन्टरले १ अर्ब १२ करोड २७ लाख ३३ हजार र पर्साको वीरगञ्जस्थित अरविन्द इम्पोरियम पम्पले १ अर्ब १२ करोड ३६ लाख रुपैयाँबराबरको इन्धनको कारोबार गरेको छ ।त्यसैगरी चितवनको साझा पेट्रोल पम्पले १ अर्ब ५ करोड ९५ लाख, भक्तपुरको वागमती आयल सप्लायर्सले १ अर्ब १ करोड २६ लाख ४१ हजार र नुवाकोटको बट्टारस्थित भैरवी आयल स्टोरले १ अर्ब १ करोड १० लाख ५२ हजार रुपैयाँबराबरको डिजेल पेट्रोल बिक्री गरी अर्ब रुपैयाँको कारोबार गर्ने क्लबमा पुग्न सफल भएको छ ।

    images
    images

    यी हुन् ७० करोडभन्दा बढीको कारोबार गर्ने देशभरका १२ पम्प

    गत आर्थिक वर्षमा ७० करोड रुपैयाँभन्दा बढी रुपैयाँको इन्धन बिक्री गर्ने सूचीमा १२ वटा पम्प परेका छन् ।जसअनुसार रुपन्देहीको अशोक सप्लायर्सले ९९ करोड ५९ लाख ४४ हजार, रुपन्देहीकै मिलन ब्रोदर सप्लायर्सले ९७ करोड २७ लाख ६१ हजार, धादिङ्गको ग्रेट हिमाल आयल सेन्टरले ८५ करोड ८ लाख ७ हजार, सिन्धुलीको नेहा आयल स्टोर्सले ८४ करोड ८२ लाख ८० हजार, काठमाडौंको हिमाल इन्टरप्राइजेजले ८३ करोड २४ लाख १० हजार र तनहुँको सुगम आयल सप्लायर्सले ८२ करोड ५१ लाख रुपैयाँको इन्धनको कारोबार गरेको छ ।

    यस्तै हेटौंडाको बलराम दास एण्ड सन्सले ७८ करोड ८७ लाख २२ हजार, रुपन्देहीको रिपुमर्दिनी पेट्रोल पम्पले ७६ करोड ६५ लाख ७० हजार, धुलिखेलको भगवति आयल स्टोरले ७६ करोड ४६ लाख २७ हजार, मकवानपुरको बाबा भोला फ्युल सेन्टरले ७४ करोड ८४ लाख ८० हजार, ललितपुरको बज्रवाराही फ्युलले ७३ करोड ६८ लाख ७८ हजार र रुपन्देहीको व्यापार कर्पोरेशनले ७२ करोड ६८ लाख २३ हजार रुपैयाँबराबरको इन्धनको कारोबार गरेको छ ।

    कुन पम्पले कति नाफा कमाए ?

    निगमका प्रवक्ता ठाकुरका अनुसार पेट्रोल पम्पले इन्धन बिक्री गरेवापत पेट्रोलतर्फ ६ प्रतिशत र डिजेलतर्फ ४.९ प्रतिशत कमिशन प्राप्त गर्छन् । यसमा ढुवानी, बीमा, सिक्रेज, वर्किङ लस, मुनाफा रकम पनि जोडिएको हुन्छ ।यसअनुसार पेट्रोल र डिजेल बिक्रीतर्फ अत्यधिक कारोबार गरेको धादिङको भैरवी इन्टरप्राइजेजले गत आर्थिकवर्षमा ९ करोड २६ लाख ४२ हजार रुपैयाँ नाफा गरेको छ । यस्तै नारायणगढको कैलाश पम्पले ८ करोड ६३ लाख ३७ हजार, ललितपुरको साझा पम्पले ७ करोड ९८ लाख ५ हजार, बाराको प्रहरी कल्याण केन्द्र पम्पले ६ करोड ८ लाख ४३ हजार, भक्तपुरको भक्तपुर पम्पले ५ करोड ८१ लाख ८२ हजार, वीरगञ्जको अरविन्द पम्पले ५ करोड ५० लाख ४ हजार, चितवनको साझा पम्पले ५ करोड ७६ लाख ४० हजार, भक्तपुरको बाग्मती पम्पले ५ करोड ४७ लाख ३३ हजार र नुवाकोटको भैरवी पम्पले ५ करोड १८ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

    के छ पम्पको मापदण्ड ?

    निगमका प्रवक्ता ठाकुरका अनुसार पेट्रोल पम्पले इन्धन बिक्री गरेवापत पेट्रोलतर्फ ६ प्रतिशत र डिजेलतर्फ ४.९ प्रतिशत कमिशन प्राप्त गर्छन । यसमा ढुवानी, बीमा, सिक्रेज, वर्किङ्ग लस, मुनाफा रकम पनि जोडिएको हुन्छ ।निगमले पम्प राख्ने मापदण्डसमेत तोकेको छ । जसअनुसार नमूना पम्पको दूरी एक आपसबाट १० किलोमिटर हुनुपर्ने तोकिएको छ । यस्तै नमूना पम्पको लागि तराईमा एक विगहा(१३ रोपनी) र पहाडी भेगमा ५ रोपनी जग्गा हुनुपर्ने मापदण्ड छ । त्यस्तै साधारण पम्प सञ्चालनका लागि १० कट्ठा जग्गा चाहिन्छ । साधारण पम्प एक पम्पदेखि अर्को पम्पको दूरी ३ सय मिटर हुनुपर्छ ।त्यस्तै दुर्गम क्षेत्रमा सञ्चालनमा रहेको प्याक्ड बिक्रेताको हकमा एक बिक्रेतादेखि अर्को बिक्रेताबीच ५ सय मिटर दूरी तोकिएको छ । आर्थिक वर्ष २०६८/६९ देखि साधारण पेट्रोल पम्पको लागि उपलब्ध गराइने अनुमति पत्र बन्द छ । अहिले नमूना पेट्रोल पम्पको अनुमति पत्र मात्रै उपलब्ध छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend