काठमाडौँः नवलपरासी, बुटवल–नारायणगढ सडक अन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साल साउन १ देखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जनक बन्जाराका अनुसार पछिल्लो एक वर्षमा ६३ पटक यो सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको छ । यीमध्ये अधिकांश घटना भारी वर्षा सँगै आएको पहिरो वा खसेको माटोले सडक अवरुद्ध हुँदा भएका थिए । सडक मर्मतका क्रममा ठुला मेसिनरी सामग्री जाम हुँदा र ट्रक बिग्रिएर रोकिँदा पनि घण्टौँसम्म बाटो थुनिएको देखिन्छ ।
दाउन्ने क्षेत्रको पनि विश्वकर्मा मन्दिर, घ्युखोला, त्रियासी मोड लगायत क्षेत्रमा दर्जनौँपटक सडक अवरुद्ध भएको पाइएको छ । बुटवल–नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम सुरु गरेसँगै सडक अवरुद्ध हुने क्रम बढेको थियो । जम्मा १४ किलोमिटर दूरी रहेको दाउन्ने क्षेत्रमा गत आर्थिक वर्ष विगतको भन्दा धेरै पटक सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख बन्जाराले बताएका छन् ।
“वर्षाको समयमा लगातार पहिरो, हिलो र सडक कटानका कारण र घाम लागेका दिनमा खाल्डाखुल्डी र धुलोले गर्दा दाउन्ने क्षेत्र सधैँजसो समस्या ग्रस्त नै बनिरहेको छ”, उनले भने।
गत पुस २६ गते विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासको विनयी खोला पुल भाँचिएपछि यस क्षेत्रको यातायात थप अस्तव्यस्त बनेको थियो । सो अवधिमा निर्माण गरिएको अस्थायी डाइभर्सन पटकपटक खोलाले बगाउँदा यातायात अवरुद्ध हुने गरेको थियो । गत असार १९ गतेदेखि विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएपछि सो समस्या टरेको छ ।
दाउन्ने सडकखण्ड विस्तारका लागि गत चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ः०० देखि ३ः०० बजेसम्म र वैशाख १ देखि ३१ गतेसम्म रातिको ११ः०० देखि बिहान ५ः०० बजेसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएको थियो । अहिले दाउन्ने खण्डमा पर्खाल लगाउने, कल्भर्ट निर्माण र सडक ढलानको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।
नारायणगढ–बुटवल सडक खण्डको एक सय १४ किलोमिटर अन्तर्गत गैँडाकोटबाट दाउन्ने सम्मको ६५ किलोमिटर मध्ये बजार क्षेत्रमा सर्भिस लेन सहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाइउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । रु १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रो पटक थप भएको म्याद २०८२ साउन ८ गते सम्म छ ।




.gif)





