काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसंख्याको समानुपातिक वृद्धि नभए मानव अस्तित्व नै संकटमा पर्ने चेतावनी दिएका छन् ।विश्व जनसंख्या दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले विकास र जनसंख्याको वृद्धि सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए । प्रत्येक व्यक्तिले सन्तान जन्माउने जिम्मेवारीलाई पृथ्वीप्रतिको उत्तरदायित्वका रूपमा लिनुपर्ने आवश्यकता औँल्याए ।
प्रधानमन्त्री ओलीले भने, ‘मानव अस्तित्वको अर्थ छ भने पृथ्वीको पनि अर्थ रहन्छ । जनसंख्याबिना देशको अस्तित्व हुँदैन। मानव जातिको सुखद र सुरक्षित भविष्यका लागि उपयुक्त नीति र प्रभावकारी कदमहरू चाल्न अत्यावश्यक छ।’उनले जनसंख्याबारे गोष्ठी र सेमिनार गर्दै, अर्कोतर्फ मानवनाशका हतियार निर्माण गर्ने प्रवृत्ति दोहोर्याउने हो भने मानव सभ्यता नै संकटमा पर्ने चेतावनी दिए । ‘जनसंख्यामा असन्तुलन बढ्न दिनु हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले सरकारले विवाहको न्यूनतम उमेर २० वर्ष निर्धारण गरेकाले समयमा विवाह गर्न र ३० वर्षभित्र सन्तान जन्माउने विषयमा सचेत रहन आग्रह गरे । समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र चालिस कटेपछि रमाउला भन्ने गीतमा नअल्झन उनले आग्रह गरे ।समाजमा सन्तानप्रति निरुत्साहित गरिने सन्देशले उल्टो असर पारेर सन्तानै नहुने अवस्था देखिएकोतर्फ पनि उनले चिन्ता व्यक्त गरे ।
विकसित देशहरूमा ऋणात्मक जनसंख्या वृद्धि देखिँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालमा जनसंख्याको सन्तुलित व्यवस्थापनका लागि नयाँ जनसंख्या नीति कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।




.gif)





