images

२०८३ आश्विन १७ गते

images
images
images

पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’

पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’

images
images
शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • म्याग्दी । समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी । कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुङ्गी र जनावरहरुको आवाज ।

    images
    images

    यी दृश्य हुन्–पूर्वी रुकुम, बागलुङ्ग र म्याग्दी जिल्लाको एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको हो । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको फाँट र पाखा बुकी फुलेर रङ्गिएपछि रमणीय बनेको छ । लेकमा फुल्ने फूलहरुलाई समग्रमा बुकीका नामले चिन्ने गरिन्छ ।

    ढोरपाटन पर्यटन प्रवद्र्धन विकास संस्थाका सचिव जीवनकुमार पुनले वन्यजन्तु र घरपालुवा जनावरको पोषिलो आहारा बुकीले पर्यटक लोभ्याउन थालेको बताए । “असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको ‘अफसिजन’ भए पनि ढोरपाटनमा ‘सिजन’ हो,” उनले भने, “केही वर्षअघिसम्म स्थानीय स्तरमा सीमित ढोरपाटनको बुकीको सौन्दर्य अहिले पर्यापर्यटनको माध्यम बनेको छ ।”

    images
    images

    सडक, यातायात, होटल तथा घरबास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिसँग रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताए ।

    शुक्रबार, शनिबार र छुट्टीको दिन देशका विभिन्न सहरबाट ढोरपाटन घुम्न पर्यटकहरु आउने गरेका छन् । ढोरपाटनका विभिन्न ठाउँमा पाँच दिन घुमेर फर्किएका काठमाडौँका नवीन खत्रीले सिकार पर्यटनका लागि मात्र नभएर प्रकृतिप्रेमीहरुका लागि पनि ढोरपाटन उपयुक्त गन्तव्य भएको बताए ।

    “शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरुमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदो रहेछ,” समुन्द्री सतहदेखि चार हजार १० मिटर उचाइमा रहेको गर्पाछेडा क्षेत्रमा भेटिएका खत्रीले भने, “थरीथरीका फूलले रङ्गिएको ढोरपाटन बर्खायाममा झनै रमाइलो छ ।”

    ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीका अनुसार साउनदेखि असोजको पहिलो हप्तासम्म बुकी फुल्ने गर्छ । “बर्खा सिजनमा ढोरपाटनको आकर्षण नै बुकी हो,” उनले भने, “यहाँ पाइने फूलहरुको जात पहिचान र अभिलेखीकरणको काम थालेका छौँ ।”

    संरक्षण अधिकृत पशुपति अधिकारीले आरक्ष क्षेत्रमा फाइने १३ प्रजातिका फरक फरक फूलको तस्बिर र स्थानीय नाम सङ्कलन गरेका छन् । दहीठेकी, राक्षस, बिसौरी, बोक्सी, राके, दूधे, ओठे, पुतली, नाकेफुली, फट्याङ्ग्री, प्याउली, मदाने र कापचुच्चे स्थानीय नाम गरेका फूलको तस्बिर सङ्कलन भएको छ ।

    सङ्कलन भएका तस्बिरहरुलाई सम्बन्धित विज्ञहरुको सहयोगमा अङ्ग्रेजी र वैज्ञानिक नाम पहिचान गर्ने तयारी गरेको संरक्षण अधिकृत पँगेनीले बताए । आरक्षले फूलहरुलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्र्याक्टरमा गाईवस्तुको मल उठाउन रोकेको छ ।

    पोषिलो घाँस खुवाउन म्याग्दी, बागलुङ र पूर्वी रुकुमका किसानले ढोरपाटनको बुकीमा गाईभैँसी, भेडाबाख्रा र घोडा चराउन गोठ लगेर गएका छन् । बुकीको पोषिलो घाँस खाएका बस्तुभाउ निरोगी, मोटा हुने र दूध तथा मासुको उत्पादन बढी हुने किसान धनबहादुर कायतले बताए।

    ढोरपाटन सिकार आरक्ष सदाबहार पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । ऋतुअनुसार यहाँ फरक फरक आकर्षण छ । आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार २०८१ को साउन महिनाको १ देखि २८ गतेसम्म पाँच सय ८१ जना नेपाली पर्यटकहरुले ढोरपाटन भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८०/८१ मा १५ हजार पाँच सय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा १९ लाख ३३ हजार सात सय राजस्व सङ्कलन भएको छ ।

    ढोरपाटन उपत्यकाको प्रवेशविन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरुको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य देशकाले तीन हजारका दरले शुल्क तिर्नुपर्छ ।

    ढोरपाटन सिकार आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार गत आर्थिक वर्षमा चार करोड ७१ लाख दुई हजार छ सय २८ राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा तीन करोड ४८ लाख राजस्व सङ्कलन भएको थियो । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढी बढाउनमा सिकारी छानिने अवसरले राजस्व बढेको वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend