श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सरकारी गाडी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले दुरुपयोग गरेको खुलेको छ । प्रदेश ३-०१-००२ झ ५३६७ नम्बरको सेतो प्लेटको महिन्द्रा स्कोर्पियो अध्यक्ष ठाकुरले अनधिकृतरूपमा निजी प्रयोजनका लागि प्रयोग गरेको खुलेको हो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीका निजी सचिव (सरकारी कर्मचारी उपसचिव) राकेश झाको नाममा जिन्सी दाखिला गरिएको सरकारी गाडी कानूनविपरीत लोसपा अध्यक्ष ठाकुरले चढेको खुलेको हो ।
श्रम मन्त्रालयले नै सरकारी गाडी हराइरहेको भन्दै खोजी गरिदिन तथा चढ्ने व्यक्तिलाई कारबाही गर्न गृह मन्त्रालयलाई औपचारिकरूपमा पत्राचार गरेपछि उक्त रहस्य खुलेको हो । प्रदेश ३-०१-००२ झ ५३६७ (सरकारी) महिन्द्राको स्कोर्पियो गाडी हराएको भनेर खोजिदिन श्रम मन्त्रालयले असार १५ गते गृहलाई पत्राचार गरेको थियो ।‘प्रस्तुत विषयमा यस मन्त्रालयको स्वामित्वमा रहेको तपसिलको विवरणअनुसारको चारपाङ्ग्रे सवारी साधन विगत केही समयअघिदेखि हराइरहेको हुँदा उक्त सवारी साधन जहाँ, जस्तो वा जुन अवस्थामा छ, खोजतलास गरिदिनुहुन साथै प्रचलित कानूनबमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी अनुसन्धान कारबाही अगाडि बढाइदिनु हुन २०८२ असार १५ गतेको (नेपाल सरकार सचिवस्तर) निर्णयानुसार अनुरोध छ,’ श्रम मन्त्रालयको प्रशासन शाखाका अधिकृत भीमबहादुर शाहीले लेखेको पत्रमा उल्लेख छ ।
गाडी खोजिदिन श्रम मन्त्रालयले लेखेको पत्र
श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करले नै गाडी खोजिदिन तथा त्यसमा संलग्न व्यक्तिलाई कारबाही गर्न गृहलाई पत्राचार गर्ने निर्णय गरेको भएपनि त्यस विषयमा उनले खासै प्रतिक्रिया दिन मानेनन् ।‘त्यो गाडी मन्त्रीज्यूको निजी सचिव राकेश झाजीको मातहतमा रहेको भन्ने बुझिएको छ,' सचिव पुष्करले लोकान्तरसँग भने, ‘त्यतिबेला गाडी हराइरहेको भन्ने कुरा आयो र फेरि गाडी मन्त्रालयमै फेला पर्यो ।’
उनले यस विषयमा थप बोल्न चाहेनन् । यता लोसपा अध्यक्ष ठाकुरनिकट सचिवालयका एक सदस्यले उक्त गाडी १५/२० दिनका लागि अध्यक्ष ठाकुरले प्रयोग गरेको पुष्टि गरेका छन् ।‘हाम्रो अध्यक्षज्यूले जहिले पनि निजी गाडी नै प्रयोग गर्नुहुन्छ । उहाँको गाडी बिग्रेपछि मन्त्रीज्यूको निजी सचिव राकेश झाजीले चढ्नुभएको गाडी हाम्रो अध्यक्षज्यूले चढ्नुभएको हो,’ ठाकुरका ती सचिवालय सदस्यले लोकान्तरसँग भने, ‘अध्यक्षज्यूको गाडी ठीक भएपछि सरकारी गाडी फिर्ता गरिएको थियो ।’झन्डै १ महिनाअघि नै सो गाडी श्रममन्त्री शरतसिंह भण्डारीका प्रमुख स्वकीय सचिव कुशकुमार चौधरीलाई मन्त्रालयमै पुगेर हस्तान्तरण गरी जिम्मा लगाइएको उनले बताए ।‘झन्डै एक महिनाअघि नै गाडी जिम्मा लगाइसकिएको भएपनि अहिले आएर उक्त विषय उठाइएको छ,’ उनले थपे, ‘अध्यक्षज्यूले फिर्ता गरिसके पनि अहिले आएर किन यो विषय बाहिर आयो, त्यसबारे हामी पनि अनभिज्ञ छौं ।’
लोसपा अध्यक्ष ठाकुर लोसपाको संसदीय दलको नेता भएपनि राष्ट्रिय दलको मान्यता नपाएकाले संसदबाट गाडीको सुविधा पाएका छैनन् । मन्त्री भण्डारीका निजी सचिव राकेश झासँग प्रतिक्रिया लिन खोज्दा उनले केही बोल्न चाहेनन् ।त्यसैगरी, मन्त्री भण्डारीका स्वकीय सचिव चौधरीसँग प्रतिक्रिया लिन खोज्दा उनले प्रतिक्रिया दिन मानेनन् ।यता, लोसपाका प्रवक्ता मनिष मिश्रले अध्यक्ष ठाकुर वा उनकी छोरी मिनाक्षी ठाकुर कसैले पनि श्रम मन्त्रालयको गाडी नचढेको बताए । ‘यो पार्टीलाई बदनाम गराउने किसिमले मन्त्रालयका कर्मचारीद्वारा गरिएको षड्यन्त्र हो,’ उनले थपे, ‘न हाम्रो अध्यक्षज्यूले मन्त्रालयको गाडी चढ्नुभएको छ, न त उहाँको छोरीले नै चढ्नु भएको हो ।’




.gif)





