काठमाडौंः आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१।८२ को ११ महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको जेठ मसान्त सम्मको अवधिमा सात अर्ब ५१ करोड ६४ लाख ६५ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकामा कार्यालयले सो अवधिमा आठ अर्ब ५२ करोड नौ लाख ८९ हजार राजस्व संकलन गरेको छ ।
कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईंले चालु आवको ११ महिनामा लक्ष्यको ११३ दशमलव ३६ प्रतिशत राजस्व संकलन गरेको बताएका छन। कार्यालयले चालु आवको ११ महिनामा अन्तःशुल्क कर तर्फ दुई अर्ब ८४ करोड ६५ लाख ५३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा लक्ष्यको एक सय ४२ दशमलव २८ प्रतिशत अर्थात् रु चार अर्ब पाँच करोड ३८ हजार राजस्व राजस्व संकलन गरेको छ ।
त्यस्तै कार्यालयले चालु आवको ११ महिनामा आयकरतर्फ दुई अर्ब ३२ करोड ४८ लाख ४८ हजार लक्ष्य रहेकामा सो अवधिमा दुई अर्ब ५५ करोड ५९ लाख ९४ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको १०९ दशमलव ९४ प्रतिशत हुन आउँछ । कार्यालयले सो अवधिमा घरबहाल कर तर्फ भने २५ करोड १० लाख आठ हजार राजस्व संकलन गरेको छ ।
त्यस्तै मूल्य अभिवृद्धि कर तर्फ दुई अर्ब २२ करोड ८३ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकामा सो अवधिमा एक अर्ब ८३ करोड ७५ लाख ५० हजार राजस्व संकलन गरेको छ । विभागले कार्यालयलाई वर्ष भरिमा रु आठ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको पनि छ ।




.gif)





