images

२०८३ आश्विन २० गते

images
images
images

भारतबाट फर्किनेमा कोभिडको जोखिम

भारतबाट फर्किनेमा कोभिडको जोखिम

images
images
शुक्रवार, जेठ २३ २०८२
शुक्रवार, जेठ २३ २०८२
  • भारतमा कोभिड–१९ (कोरोना) भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेपछि त्यसको प्रत्यक्ष असर नेपालका सीमावर्ती क्षेत्रहरूमा देखिन थालेको छ । सुदूरपश्चिम प्रदेशको पश्चिम र दक्षिण सीमा भारतसँग जोडिएको छ । विशेषगरी कैलालीको त्रिनगर र कञ्चनपुर जिल्लाको गड्डाचौकी नाका हुँदै दैनिक सयौँ व्यक्ति नेपाल भित्रिरहेका छन् । त्यसैले पनि यहाँ सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै चासो बढेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार त्रिनगर नाका हुँदै नेपाल फर्किएका तीन जनामा हालै नयाँ प्रकारको कोरोना भेरियन्टको सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसपछि सीमामा सतर्कता अपनाइए पनि परीक्षणका लागि चाहिने आवश्यक सामग्रीको अभावले चुनौती थपिएको छ ।

    images
    images

    प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी धर्मानन्द गिरीका अनुसार हाल सीमामा तत्काल परीक्षणका लागि प्रयोग हुने एन्टिजेन किटको अभाव छ । ‘कोरोना सङ्क्रमणको जोखिम बढेको यथार्थ हो । तर किट नभएकाले परीक्षणको काम प्रभावकारी रूपमा गर्न सकिएको छैन,’ उनले भने ।गिरीका अनुसार अहिले हेल्थ डेस्कमार्फत शङ्का लागेका तथा लक्षण देखिएकाहरूको स्वाब सङ्कलन गरी जनस्वास्थ्य प्रयोगशाला धनगढीमा पीसीआर परीक्षणका लागि पठाइँदैछ । प्रदेश स्वास्थ्य निर्देशनालयका कोरोना व्यवस्थापन फोकल पर्सन हेमराज जोशीका अनुसार अहिले सीमामा पीसीआर परीक्षणको भरमा काम चलाइएको छ । उनका अनुसार भारतबाट आउनेमध्ये केही व्यक्तिमा सङ्क्रमण पुष्टि भइसकेको छ, यद्यपि कुन भेरियन्ट हो भन्नेबारे जीन सिक्वेन्सिङ नभएसम्म ठोस कुरा भन्न नसकिने अवस्था छ ।

    सुदूरपश्चिम प्रदेश सरकारले भारतसँग जोडिएका मुख्य नाकाहरू कैलालीको त्रिनगर र टीकापुर, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलंगा नाकामा हेल्थ डेस्क स्थापना गरेको छ । हरेक डेस्कमा पाँच–पाँच जना गरी कुल २५ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । उनीहरू नाकामा आउने व्यक्तिको प्रारम्भिक स्वास्थ्य परीक्षण, लक्षणको निगरानी तथा सचेतनामूलक कार्यमा खटिएका छन् ।तर, परीक्षण किट र आवश्यक पूर्वाधार अभावका कारण उनीहरूको काम सीमित भएको देखिन्छ । स्वास्थ्यकर्मीहरूका अनुसार पीसीआर परीक्षणमा समय लाग्ने र परीक्षणको सङ्ख्या सीमित भएकाले वास्तविक जोखिमको मूल्याङ्कन गर्न गाह्रो भइरहेको छ ।प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काका अनुसार सुदूरपश्चिम सरकार कोभिड भाइरसको नयाँ भेरियन्टबाट हुने जोखिमप्रति सचेत छ । उनले भने, ‘हाम्रो बजेट निर्माणको प्रक्रिया चलिरहेको छ, तर महामारी व्यवस्थापनका लागि कोष छुट्ट्याइएको छ । त्यही बजेटमार्फत आवश्यक पूर्वतयारी तथा व्यवस्थापनमा जुट्नेछौँ ।’

    images
    images

    मन्त्री खड्काका अनुसार स्वास्थ्य निर्देशनालयमार्फत संघ सरकारसँग समन्वय भइरहेको छ र आवश्यक सहयोगको प्रयास भइरहेको छ । तर, पूर्वतयारीको कमी, परीक्षण सामग्रीको अभाव र सीमामा मानिसको उच्च चहलपहलबिच सङ्क्रमण फैलिनसक्ने जोखिम भने कायमै छ । सीमावर्ती क्षेत्र त्रिनगरनजिकै बसोबास गर्ने स्थानीय बासिन्दा रमेश बिष्ट सङ्क्रमणको सम्भावित जोखिमप्रति गम्भीर देखिन्छन् । उनले भने, ‘नाकाबाट दैनिक सयौँ मान्छे भित्रिन्छन्, तर परीक्षण राम्ररी नहुँदा हामीजस्ता स्थानीय बासिन्दा डरमा छौँ । हेल्थ डेस्कमात्रै होइन, किट र निगरानी प्रणाली मजबुत हुनुपर्छ । अहिले सजगता देखिए पनि तयारी पर्याप्त छैन ।’बिष्टका अनुसार भारतमा फैलिएको कोभिडको नयाँ भेरियन्ट प्रदेशमा आइपुगेको प्रमाण देखिन थालेकाले सावधानी बढाउनुपर्छ । सरकारद्वारा हेल्थ डेस्क स्थापना, सीमामा स्वास्थ्यकर्मी परिचालन र पीसीआर परीक्षणजस्ता पहल गरिएको छ, तर परीक्षण किटको अभाव, सीमित जनशक्ति र संघीय सरकारसँग समन्वयको ढिलाइले जोखिम व्यवस्थापनमा चुनौती थपिएको छ ।

    उच्च सतर्कता, भरपर्दो परीक्षण व्यवस्था, स्वास्थ्य पूर्वाधारको मजबुतीकरण र स्थानीय समुदायलाई पूर्ण जानकारी दिनु आवश्यक देखिएको धनगढीका स्वास्थ्यकर्मी कलावती केसीले बताइन् । उनका अनुसार सीमाबाट सुरु हुने सङ्क्रमण देशव्यापी बनेको थियो । यसकारण महामारीले डरलाग्दो रूप लिन नदिन अहिले नै तयारी गर्नुपर्ने आवश्यकता छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend