images

२०८३ आश्विन १६ गते

images
images
images

सात वर्ष देखि अलपत्र अवस्थामा रहेको पुलको काम सुरु

सात वर्ष देखि अलपत्र अवस्थामा रहेको पुलको काम सुरु

images
images
बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • सात वर्ष देखि अलपत्र अवस्थामा रहेको नवलपरासी पूर्व (नवलपुरको) केरुङ्गे खोला पुलको काम सुरु भएको छ । काम छाडेर सम्पर्क विहीन बनेको निर्माण व्यवसायीलाई ताकेता गरेपछि अहिले सम्पर्कमा आएर काम सुरु गरेको हो ।पुलको अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी रहेको १५ प्रतिशत काम यही असार मसान्तसम्म सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीलाई निर्देशन दिइएको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायण प्रसाद लामिछानेले जानकारी दिनुभयो । निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार लामो समयसम्म सम्पर्क विहीन भएको थियो । अहिले भने ठेकेदार सम्पर्कमा आएको र असार मसान्तसम्म पुल निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको लामिछानेले बताउनुभएको छ । 

    images
    images

    कावासोती नगरपालिका वडा नम्बर ३ र ४ लाई जोड्ने गरी २०७५ सालमा पुलको काम सुरु भएको थियो । तीन वर्षभित्र काम सक्ने गरी सम्झौता भएको पुलको काम सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।झन्डै १ सय ४० मिटर लम्बाइको पुल साढे १० करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो ।२०७५ सालमा सुरु गरेर २०७७ साल असारसम्म पुल निर्माणको काम सक्ने गरी ठेक्का सकारेको कम्पनीको ठेकेदार विभिन्न बहाना बनाएर सम्पर्क विहीन हुँदा पुल अलपत्र परेको थियो ।

    पटक पटक म्याद थप गरेर काम अगाडि बढाए पनि केही दिन निर्माण स्थलमा कामदारहरू पठाउने र केही दिनमै आफू सम्पर्क विहीन बनिदिने परिपाटीले स्थानीयले सास्ती भोग्दै आएको कावासोती ४ का अध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो । यहाँ पुल निर्माण नहुँदा वर्षाको समयमा विद्यालय आउजाउ गर्ने विद्यार्थी , हुप्सेकोट र कावासोती चारका व्यावसायिक किसानलाई सबैभन्दा बढी समस्या हुने गरेको अध्यक्ष लोहनीले बताउनुभयो ।  नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले अलपत्र पुलको बारेमा जानकारी पाएपछि सडक डिभिजनका प्रतिनिधि , वडा र पालिकाका प्रमुख समेतलाई  जिल्ला प्रशासन कार्यालयमै डाकेर ठेकेदारलाई सम्पर्क गरी छिटो काम सम्पन्न गर्न निर्देशन दिएको बताउनुभयो । जिल्ला प्रशासनको निर्देशन पश्चात् ठेकेदार कम्पनीले काम सुरु गरेको उहाँको भनाइ छ । 

    images
    images

    निर्माण व्यवसायी कमल भट्टले यही असार मसान्त सम्म सबै काम सक्ने गरी काम  सुरु गरिएको बताउनुभएको छ । यदि कुनै कारणवश सबै काम पुरा हुन नसके पनि पुल आसपासको बाटो सम्म्याएर सवारी गुडाउन मिल्ने बनाउने उहाँले बताउनुभयो । पुलको छेउमा बार लगाउने र पुलमा बनेका खाल्डो सम्म्याएर रङ रोगन गर्ने कार्य पनि बाँकी रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend