images

२०८३ आश्विन १५ गते

images
images
images

यातायात व्यवसायीका कारण यात्रुलाई सास्ती

यातायात व्यवसायीका कारण यात्रुलाई सास्ती

images
images
मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • काठमाडौँ । यातायात व्यवसायीले गएराति सरकारसँग छ बुँदे सहमति गरेर आन्दोलन नरोक्दा आज पनि यात्रु सास्ती खेप्न बाध्य भएका छन् । आज पनि बिहानैदेखि देशभर यातायातका साधन नचल्दा गन्तव्यमा जान निस्किएका यात्रु मारमा परेका छन् । सोमबारदेखि नै अलपत्र परेका यात्रु पनि सवारी साधनको प्रतीक्षामा रहेका छन् । कतिपय पैदलै हिँडेर गन्तव्यमा गइरहेको देखिएका छन् भने काठमाडौँ उपत्यकामा न्यून मात्रामा साझा यातायातले सेवा दिए पनि कोचाकोच यात्रु राख्न बाध्य भएको देखिएको छ ।

    images
    images

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले आज पनि सार्वजनिक सवारीसाधन प्रभावित भएको देखिएको र फाट्टफुट्ट चलिरहेको बताए । उनले चालकहरुको मागका आधारमा ‘स्कटिङ’ गरेर यातायातका साधनलाई गन्तव्यतर्फ पठाउन ७७ वटै जिल्लामा प्रहरी टोलीलाई निर्देशन दिएअनुसार उक्त कार्य जारी रहेको उनले बताए । यसरी सार्वजनिक यातायातका साधन नचलेपछि ‘राइड शेयरिङ’ प्रयोग गर्नुपर्ने बाध्यता यात्रुहरुमा रहेको छ । उनीहरुले चर्को भाडा असुलेको गुनासो आइरहेको छ । उनीहरुले रु २५० लाग्ने ठाउँमा रु ४०० सम्म लिइरहेको यात्रुहरुले गुनासो गरेका छन् ।एक्कासी सोमबार र मङ्गलबार यातायात नचल्दा त्यसअघि विभिन्न क्षेत्रमा पुगेका सर्वसाधारण नागरिकलाई फर्कन सास्ती भएको छ । उनीहरु लामो दूरीका सवारीसाधनको प्रतीक्षामा रहेका छन् ।

    सहमति हुँदा पनि किन चलेनन् गाडी ? 

    images
    images

    गएराति भएको सहमतिको मुख्य बुँदा गण्डकी प्रदेशले निजी सवारी साधन (रातो नम्बर प्लेटका) लाई यात्रु बोक्न दिने गरी ल्याइएको राइड शेयरिङसम्बन्धी नियमावली, यससम्बन्धी संघीय कानुन तर्जुमाको क्रममा रहेकाले सो कार्यान्वयनमा नआउँदासम्म सम्बन्धित प्रदेशको राइड शेयरिङ सम्बन्धी नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत अनुरोध गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने रहेको छ । यसका साथै सहमतिपत्रमा यातायातसम्बन्धी सर्वोच्च अदालतको परमादेश कार्यान्वयन, सार्वजनिक यातायात सुधार सुझाव सिफारिस कार्यदल गठन गर्ने, ऐन, कानुन, नियम र निर्देशिकाहरूमा यातायात व्यवसायी तथा यातायात मजदुरहरुका मागलाई सम्बोधन गर्ने, स्वदेशी तथा विदेशी सवारी साधनको भारवहन क्षमतासम्बन्धी नियम कानून कार्यान्वयन, विदेशी सवारी साधनलाई भन्सार नाकामै पाइराखेको ७२ घन्टे सुविधा सम्बन्धमा सुझाव पेस गर्ने, सार्वजनिक सवारी साधनको आयु सम्बन्धमा सर्वोच्चको परमादेशको यथाशीघ्र कार्यान्वयनलगायतका विषय रहेको छ । 

    यातायात व्यवसायीले सबै विषयमा सहमति जनाएर पनि बुँदा नम्बर १ को विषय पूर्ण कार्यान्वयन नभएसम्म आन्दोलन भने स्थगित नगर्ने अडान कायम राखेका छन् । सोही कारण आज पनि देशभर यातायातका साधन सञ्चालन भएका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा वार्ता टोली सदस्य सरोज सिटौलाले गण्डकी प्रदेश सरकारबाट निजी सवारी साधन (रातो नम्बर प्लेटका)लाई यात्रु बोक्न दिने गरी ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावलीको उक्त बुँदा हटाएको निर्णयको प्रतिक्षामा रहेको र सो निर्णय आउने बित्तिकै आन्दोलन स्थगित हुने बताए । गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली ९निर्देशिका० बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए ।

    सोमबार सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन गरेको आठ सदस्यीय सरकारी वार्ता टोली र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा नौ सदस्यीय टोलीबीच राती ११ बजेसम्म छलफल गरी उक्त सहमति गरेको हो । यता सरकारले भने सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको र आज समस्या समाधान हुने जानकारी गराएको छ । सरकारी वार्ता टोलीका संयोजक पन्थले आज अपराह्नसम्ममा निकास निस्किने विश्वास व्यक्त गरे पनि निकास भने निस्केन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend