images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक...

न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

images
images
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • काठमाडौँ । अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्लाटफर्ममा प्रतिबन्ध घोषणा भएकामा अब न्युजिल्यान्डमा पनि यस्तै चर्चा सुरु भएको छ । प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने प्रस्ताव गरेका छन् । किशोरकिशोरीलाई हिंसात्मक सामग्री, साइबर बुलिङ तथा अन्य हानिकारक प्रभावहरूबाट जोगाउने उद्देश्यले यस्तो प्रस्ताव गरेको उनले बताएका छन् ।

    images
    images

    अघिल्लो साता प्रधानमन्त्री लक्सनले सार्वजनिक गरेको विधेयक मस्यौदामा सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर कम्तीमा १६ वर्ष भएको प्रमाणित गर्नुपर्ने र त्यसो नगरेमा कम्पनीहरूलाई २० लाख न्युजिल्यान्ड डलरसम्म (करिब १२ लाख अमेरिकी डलर) जरिवाना लाग्ने उल्लेख छ ।‘सामाजिक सञ्जालमा राम्रा कुराहरू पनि हुन्छन् तर किशोरकिशोरीका लागि यो कहिल्यै पनि सुरक्षित स्थान रहेन,’ प्रधानमन्त्री लक्सनले भनेका छन्, ‘यो हाम्रा बच्चाहरूको सुरक्षाको विषय हो । सामाजिक सञ्जाल कम्पनीहरूले आफ्नो जिम्मेवारी अनिवार्य निर्वाह गर्नुपर्छ ।’

    साइबर बुलिङ, हिंसात्मक तथा अनुपयुक्त सामग्रीमा पहुँच, शोषण र सामाजिक सञ्जालको लतजस्ता समस्याबारे शिक्षक तथा अभिभावकहरूले प्रधानमन्त्रीसँग चिन्ता व्यक्त गरेका थिए । ‘आफ्ना साना छोराछोरीमा सामाजिक सञ्जालको असरलाई लिएर अभिभावकले पटक-पटक चिन्ता जाहेर गरेका छन्,’ लक्सनले भने, ‘उनीहरूलाई सञ्जालको पहुँच नियन्त्रण गर्न निकै गाह्रो भइरहेको छ ।’

    images
    images

    विधेयकको मसौदा तयार पार्ने नेसनल पार्टीकी सांसद क्याथरिन वेडका अनुसार हाल न्युजिल्यान्डमा सामाजिक सञ्जाल प्लाटफर्मका लागि उमेर प्रमाणीकरण गर्ने कुनै प्रणाली छैन । यस विधेयकले अभिभावकलाई आफ्ना बच्चाको अनलाइन गतिविधि निगरानी गर्न सहयोग गर्ने सांसद् वेडको भनाइ छ ।प्रस्तावित प्रतिबन्ध अस्ट्रेलियाको कानुनका आधारमा तयार पारिएको हो। अस्ट्रेलियाले गत नोभेम्बरमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने विश्वकै कडा कानुनमध्ये एक पारित गरिसकेको छ । फेसबुक, इन्स्टाग्राम, एक्सजस्ता प्रविधि कम्पनीले यो कानुनलाई ‘हडबडीमा बनाइएको’, ‘अस्पष्ट’ र ‘समस्याग्रस्त’ भएको प्रतिक्रिया दिएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend