images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • मङ्गलवार देखि विद्यालय नखोले स्थानिय सरकारले...

मङ्गलवार देखि विद्यालय नखोले स्थानिय सरकारले कारबाही गर्ने चेतावनी

मङ्गलवार देखि विद्यालय नखोले स्थानिय सरकारले कारबाही गर्ने चेतावनी

images
images
सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • काठमाडौँः वैशाख १६ गते मङ्गलवार देखि अनिवार्य विद्यालय खोल्न  सिदिङवा गाउँपालिकाले निर्देशन दिएको छ । विद्यालय नखोले पालिकाको शिक्षा ऐन २०८० को प्रयोग गरी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

    images
    images

    गाउँपालिका अध्यक्ष मानबहादुर राईले सबै सामुदायिक विद्यालयलाई पत्राचार गर्दै अझै पनि विद्यालय बन्द रहने अवस्था आए कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन् । अध्यक्ष राईले २३ वटा अधिकार स्थानीय तहमा निहित रहेको र गाउँपालिकाको शिक्षा ऐन २०८० मा शिक्षा सम्बन्धी विभिन्न व्यवस्था रहेको स्मरण गराउँदै विद्यालय बन्द भइरहे कानुन अनुसारको अधिकार प्रयोग गर्ने  बताएका हुन् ।

    शिक्षकहरूको आन्दोलन लम्बिँदै जाँदा विद्यालय बन्द भई सार्वजनिक शिक्षामा थप क्षति पुगेको, विद्यालयप्रति विद्यार्थी र अभिभावकको विश्वास घट्दै जाने र समग्र शैक्षिक सूचकांकमा नकारात्मक असर पर्ने भएको उल्लेख गर्दै मंगलवार देखि विद्यालय खोल्न निर्देशन दिएका हुन् ।

    images
    images

    ‘शैक्षिक सत्र सुरु भएपछि विद्यालय जान पाउने र पढ्न पाउने विद्यार्थीको नैसर्गिक अधिकारको सम्मान गर्नुपर्ने शिक्षकको पेसागत जिम्मेवारी समेतलाई आत्मसात् गर्दै १६ गतेबाट विद्यालय सञ्चालन गरी बाँकी रहेका सबै शैक्षिक गतिविधि सञ्चालन गर्नु गराउनु हुन शिक्षक लगायत सम्बन्धित सबै पक्षसँग अनुरोध गर्दछु,’ अध्यक्ष राईले भनेका छन् ।

    त्यस्तै, ललितपुर महानगरपालिकाले ललितपुर क्षेत्रभित्र पर्ने विद्यालय खोल्न निर्देशन दिएको छ । मंगलबार बसेको महानगरको शिक्षा समितिको बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो । समितिले विद्यालय व्यवस्थापन समिति र शिक्षकर अभिभावक संघबीच छलफल गरी मापदण्ड तय गर्न पनि विद्यालयहरुलाई आग्रह गरेको छ ।

    सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयको पठन–पाठन सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा समितिका संयोजक समेत रहेका महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिएका छन् । महानगरपालिका क्षेत्रमा ४० वटा सामुदायिक विद्यालय र अन्य निजी विद्यालयलाई समेत सोही बमोजिम गर्न महानगरपालिकाले निर्देशन गरेको हो ।

    महानगरले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न र अभिभावकलाई मापदण्ड अपनाएर मात्रै बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेको छ ।

    त्यस्तैगरी, पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयको पठनपाठन बुधबार सम्ममा सञ्चालन गर्न आन्दोलनरत शिक्षकलाई आग्रह गरेको छ ।

    महानगरको शिक्षा महाशाखाले आज सूचना प्रकाशन गरेर बुधबार सम्ममा पठनपाठन नियमित गर्न शिक्षक, विद्यार्थी, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघलाई आग्रह गरेको हो ।

    नगर शिक्षा समितिको आइतबारको बैठकले पठनपाठन नियमित गर्न शिक्षकलाई आग्रह गर्ने निर्णय गरेको सूचनामा जनाइएको छ । नयाँ शैक्षिक सत्र वैशाख ८ देखि सञ्चालन गर्ने महानगर शिक्षा महाशाखाको तयारी थियो। तर, सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा रहेपछि संस्थागत विद्यालयको पठनपाठन पनि स्थगित गरिएको थियो ।

    पोखरामा १ सय ९८ सामुदायिक र १ सय ७५ संस्थागत विद्यालय छन् । शिक्षा महाशाखाको ०८१ को तथ्यांक अनुसार ती विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब १ लाख ४४ हजार विद्यार्थी अध्ययनरत छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend