काठमाडौँ । नर्सरी व्यवसायी सङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा चार दिनदेखि जारी दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१ ले १ करोड बढी रकमको कारोबार गरेको छ ।‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने मूल नारासहित चैत्र २८ गतेदेखि सुरु भएको सो मेलाको ५१ हजारले अवलोकन गर्दा १ करोड २५ लाख रुपैयाँको कारोबार गरेको हो ।
नर्सरी व्यवसायी सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाका अनुसार मेलामा सङ्घले राखेको लक्ष्य अनुसार कारोबार भएको छ । काठमाडौँको भृकुटीमण्डपमा चैत्र २८ देखि ३१ गतेसम्म लागेको सो मेलामा पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादनहरूको प्रदर्शनी गरिएको छ ।एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका ७०० भन्दा बढी प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिएको थियो ।
साथै मलखाद, अर्ग्यानिक एवं रासायनिक विषादी, बिउ विजन, गमला, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहेको थियो । यसपटक उपत्यका बाहिरका नर्सरी व्यवसायीहरुको समेत सहभागिता र स्टल रहेको आयोजक पक्षले जनाएको छ ।मेलामा ७४ वटा व्यावसायिक स्टल, ३ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिस्पर्धाको ५ वटा स्टलसहित ९ वटा स्टल थियो । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रतिव्यक्ति १०० रुपैयाँ र विद्यार्थी तथा ज्येष्ठ नागरिकको लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ ।




.gif)





