काठमाडौंः बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रदेशले यथाशीघ्र विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने जानाकारी दिनु भएको छ ।
यातायात व्यवस्था कार्यालय हेटौँडाको आज निरीक्षण गर्दै उहाँले सेवाग्राहीले बैंकमा लाइन बसेर दस्तुर एवं कर दाखिला गरिसकेपछि पनि पुनः रसिद काट्न कार्यालयमा लाईन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने गरी कानुनी सुधारका काम भइरहेका जानकारी दिनुभयो ।
विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८ निर्माण गरिसकेकाले यथाशीघ्र भुक्तानी प्रणाली विद्युतीय माध्यमबाट हुने उहाँले जानकारी दिनुभयो । मन्त्री महर्जनका अनुसार मन्त्रालयको वेबसाइटबाट आफ्नो सवारीको विवरण आफूले अद्यावधिक गरी बिलबुक नवीकरण सहित सवारी कर तिर्न सकिने व्यवस्था छ ।
प्रदेश सरकारले नागरिक एप मार्फत सवारी चालक अनुमतिपत्र देखिने व्यवस्था गरिसकेकाले बताउँदै त्यसको पूर्णरूपमा कार्यान्वयन भइरहेको उहाँले जानकारी दिनुभयो । मन्त्री महर्जनले सवारी चालकले ट्राफिक नियम उलङ्घन गरेमा सोही एपको सवारीचलक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सूचना प्रणाली अन्तर्गतको क्यूआरबाट ट्राफिक प्रहरीले जरिवाना गर्ने गरी व्यवस्था मिलाइएको बताउनु भयो ।
आगामी दिनमा बागमती प्रदेश सरकारले सवारी चलक अनुमतिपत्र सम्बन्धी आवेदन सहित अन्य सेवा राष्ट्रिय परिचयपत्र सँग आवद्ध गरी अनलाइन प्रणाली मार्फत प्रवाह गर्ने उद्देश्यले नयाँ प्रणाली विकास गरिरहेको बताउँदै मन्त्री महर्जनले यस सम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
निरीक्षणका क्रममा मन्त्री महर्जनले कार्यालयका कर्मचारी तथा सेवाग्राही सँग अन्तरक्रिया समेत गर्नु भएको थियो । यातायात व्यवस्था कार्यालय हेटौँडाका कार्यालय प्रमुख प्रवीण श्रेष्ठले सेवाग्राहीको गुनासो र जिज्ञासा सान्दर्भिक रहेका बताउनु भयो । कार्यालयले आर्थिक कार्यविधि, वित्तीय उत्तरदायित्व नियमावली लगायत अन्य प्रचलित कानुन अनुसार कार्य सम्पादन गर्नुपर्ने बाध्यता रहेकाले पनि सेवा प्रवाहमा समय लाग्ने गरेको उहाँले जानकारी दिनुभयो ।




.gif)





