गोरखाः उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेत लगायतका हिमाली गाउँ विद्युत् मर्मत भएपछि पुनः गाउँ झलमल्ल बनेको छ।
गाउँको लघुजलविद्युत् आयोजना पहिरोले बगाएपछि चुमनुब्री गाउँपालिका–६ को चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यू, डुम्जे, रेञ्जम, घो, यार्चो र खारगुम्बा बस्तीका करिब २०५ घरधुरीका बासिन्दा गत भदौदेखि दाउराको उज्यालोका भरमा जीवन गुजार्न बाध्य भएका थिए।
गाउँमा बिजुली नहुँदा गाउँले अन्धकारमा बस्न बाध्य भएको स्थानीय लोप्साङ धार्के लामाले बताएका थिए। गत साउन १२ गतेको पहिरोले चुम्लिङ, चुम्चेत लघुजलविद्युत् आयोजना पहिरोले बगायो। त्यतिबेला गाउँले मिलेर जलविद्युत् मर्मत गरी अस्थायी रुपमा बिजुली बालेका थियौँ। पछि फेरि भदौमा आएको पहिरोले जलविद्युत् बगायोु, लामाले बताए, भदौयता बीचबीचमा अस्थायी रुपमा बिजुली आए पनि नियमित भने थिएन। अहिले मर्मत सम्पन्न भइ नियमितरुपमा बिजुली बलेको एक साता भयो।
विद्युत् नहुँदा बत्तीमात्र होइन, दैनिक छाक टार्ने अन्न कुटानी पिसानी समेत गर्न नपाइएको चुमनुब्री–६ चुम्चेतका वडाध्यक्ष सरोज लामाको भनाइ छ। अहिले बिजुली बलेपछि गाउँलेलाई तोरी, मकै, गहुँ लगायत खाद्यान्न कुटानी पिसानी गर्न सहज भएको जानाकारी गराएका छन्।
यता खासै रुख पाइँदैनन्। गाउँमा बिजुली नहुँदा दाउरा बालेर बस्नुपर्ने बाध्यता थियो। अलिअलि भएका रुख पनि फँडानी गरिएको थियो , उनले भने।
गाउँमा केन्द्रीय प्रसारणको बिजुलीबत्तीको पहुँच पुगेको छैन। गाउँलेले विसं २०७९ जेठ १५ गते निर्माण सम्पन्न भएको ७५ किलोवाटको चुम्चेत, चुम्लिङ जलविद्युत् आयोजनाको बत्ती बाल्ने गरेका थिए।
गत भदौमा चुम्चेत खोला (ताम्जाखोला) मा उत्पादित सो लघुजल विद्युत् आयोजनाको मुहान, कुलो र ट्यांकी सबै बगाएको सो आयोजनाका अध्यक्ष गोपाल लामा बताउँछन्।
कादुरी एग्रिकल्चरल एड एशोसिएशन ब्रिटिस गोर्खाले निर्माण सम्पन्न गरेको सो आयोजना भत्किएपछि चुमनुब्री–६ अन्तरगतका गाउँ अन्धकार बनेका थिए। पहिरोले झन्डै रु एक करोडको क्षति पुर्याएको लामाको भनाइ छ।
साउनको पहिरोले खासै क्षति पुर्याएको थिएन, त्यतिबेला सामान्य मर्मत गरेर बिजुली बालेका थियौँ, उनले भने, भदौको पहिरोले आयोजना जगैदेखि बगाएर लग्यो। त्यसपछि पूर्णरुपमा मर्मत सम्पन्न गरेर बिजुली वितरण गरेको झन्डै एक साता भयो।
लामाका अनुसार आयोजनाले भदौयता बीचबीचमा अस्थायी रुपमा बिजुली बालेको थियो। कादुरी संस्था आफैले मर्मत गरेर गाउँलाई पुनः झिलिमिली बनाएको अध्यक्ष लामाको बताउँछन्।




.gif)





