सुर्खेत । ६ वर्षपछि हुन लागेको मध्यपश्चिम विश्वविद्यालय (एमयु) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत आज मतदान चलिरहेको छ ।बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेपनि केही ढिलोगरी मतदान सुरु भएको छ ।
४ हजार ३८३ मतदाता सङ्ख्या रहेको विश्वविद्यालयमा १७ सदस्यीय कार्य समिति रहन्छ । स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ३ पदाधिकारी र १४ जना सदस्य मतदाताबाट निर्वाचित हुन्छन् भने ७ जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ ।
दुबै प्रणालीबाट निर्वाचित १४ जना सदस्यहरूमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था रहेको छ । त्यसपछि कार्य समितिमा ५ पदाधिकारी र १२ जना सदस्य चयन हुन्छन् ।लामो समयपछि विद्यार्थीहरू हर्सोल्लासका साथ मतदानमा सरिक भएका छन् । मतदान गर्नेमा प्रदेश सभाका सांसद (विद्यार्थी)हरू रहेका छन् । यस्तै नेताहरू मतदान स्थलमै सहभागी भएर आ–आफ्नो उम्मेदवारका पक्षमा भोट हाल्न मतदातालाई प्रेरित गरिरहेका छन् । निर्वाचनका लागि ९ वटा विद्यार्थी सङ्घरसंगठन दर्ता भएका छन् ।
एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियू) बाट जगतजंग शाही, माओवादी निकट अखिल (क्रान्तिकारी)बाट अध्यक्ष प्रकाश विक, कांग्रेस निकट नेविसंघबाट विवेक खड्का अध्यक्ष पदको उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट मिलन बिसी उम्मेदवार छन् भने विप्लव निकट विद्यार्थी संगठनबाट चीनबहादुर सहकारी अध्यक्षका उम्मेदवार छन् ।यस्तै विकल्प ओली राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) बाट लेलिन रेग्मी, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार अध्यक्षका उम्मेदवार रहेका छन् ।




.gif)





