images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • मौसम परिवर्तनसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको...

मौसम परिवर्तनसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप

मौसम परिवर्तनसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । भाइरल ज्वरो भन्नाले शरीरमा भाइरल सङ्क्रमण बुझाउँछ, जुन सामान्यतया शरीरको तापक्रम अचानक वृद्धिको रूपमा देखापर्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका बालबालिका र वृद्धलाई यसले निकै सताउने गर्छ । साथै यो एक व्यक्तिबाट अर्को व्यक्तिमा छिट्टै सर्छ।

    images
    images

    केही साता यता वीर अस्पतालको ओपीडीमा भाइरल ज्वरोका बिरामी दोब्बर बढेको वीर अस्पतालका निर्देशक दिलीप शर्माले जानकारी दिए।शर्माका अनुसार यस पटक धेरै दिनदेखि ज्वरो आएको तर निको नभएको समस्या लिएर आउने बिरामी धेरै छन् । ‘ज्वरोसँगै जिउ दुख्ने, लामो समय खोकी लाग्ने जस्ता लक्षण बढी देखिएका छन्’ शर्माले सुनाए।

    त्यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि भाइरल ज्वरोका लक्षण लम्बिएर आउनेको संख्या बढेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए । ‘वर्षेनी मौसम परिवर्तन भएसँगै यस्ता बिरामी बढ्छन्’ डा. पुनले भने, ‘तर अहिले लक्षण लामो समय देखिएको छ।’ज्वरो निको भए पनि बिरामीमा खोकी लामो समयसम्म लाग्ने, छातीे, जिउ अत्याधिक दुख्नेजस्ता लक्षणले लामो समयसम्म रहेको पाइएको पुनले बताए।

    images
    images

    लक्षण

    भाइरल सङ्क्रमणमा प्रायः गरेर हल्का वा धेरै (१०२ डिग्री फरेनहाइटसम्म) ज्वरो आउने हुन्छ । शरीरको दुखाइ, टाउको दुखाइ, कमजोरी, सिँगान बग्नु र खोकी आदि लक्षणहरू देखा पर्ने डा. प्रमोदकुमार साह बताउँछन् । उनी भन्छन् ‘यस प्रकारको लक्षण र रोगको अवधि उमेर र बिरामीको स्वास्थ अवस्थाअनुसार परिवर्तन हुनसक्छ।’

    बढ्नुको कारण

    मौसम परिवर्तन भएसँगै इन्फ्लुएन्जाको सक्रियता बढ्छ । जसले गर्दा सक्रिय व्यक्ति जो भीडभाडमा जान्छन्, उनीहरूबाट संक्रमण समुदायमा फैलिले र बढ्ने डा. पुन बताउँछन्।

    ‘घर–घरमा ज्वरोको बिरामी देखिएको र त्यो अनुपातमा पनि अस्पताल नै आउने बिरामीको संख्या कम रहेको डा.पुनको भनाइ छ । ‘त्यस्ता बिरामी आफ्नो दैनिक क्रियाकलापमा सक्रिय हुँदा, कार्यालय जाँदा अरूमा पनि संक्रमण सर्ने भयो र संक्रमण बढ्ने भयो’ पुन भन्छन्।

    संक्रमण लम्बिनुको कारण

    संक्रमणदर बढ्दै जानु र लक्षण पनि लम्बिनुको कारण खराब जीवनशैली रहेको डा.पुनको बुझाइ छ। ‘अहिले स्वच्छ वातावरण र पोषिलो खानेकुरा पाउन गाह्रो छ’ डा.पुन भन्छन्, ‘शारीरिक गतिविधि पनि कम छ । जसकारण मानिसहरूको रोग प्रतिरोधात्मक क्षमता पहिलेको तुलनामा निकै कम छ।’रोग प्रतिरोधात्मक क्षमता कम हुनेबित्तिकै मौसम परिवर्तन हुँदा सक्रिय हुने जीवाणुको सम्पर्कमा आउँदा छिटै संक्रमण हुने र लक्षण पनि लामो समय रहने डा.पुन बताउँछन्।

    प्रदूषण पनि जिम्मेवार

    हिउँद तथा सुक्खा याममा प्रायः वायुप्रदूषण बढ्ने गर्छ । वायुप्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ र रोग प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ । प्रदूषणका कणले शरीरलाई कमजोर बनाइरहेका बेला फ्लु संक्रमण हुँदा लक्षण लम्बिने र कडा कडा हुने डा.पुनले जानकारी दिए।फ्लुको संक्रमण र प्रदूषण एकसाथ देखिँदा भाइरल सङ्क्रमणका बिरामी निको हुन समय लागिरहेको उनले बताए। ‘प्रदूषणसँगै सङ्क्रमणले घाँटी र फोक्सोलाई असर गरी अवस्था गम्भीर बनाएका केसहरू पनि भेटिएको छ’ पुनले भने।

    कस्तो अवस्थामा अस्पताल जाने ?

    यदि सामान्य ज्वरो र रुघाखोकी मात्र भएमा आत्तिएर अस्पताल नै गइहाल्नु नपर्ने डा. पुन बताउँछन् । उनी भन्छन् ‘ज्वरो घरेलु उपचारले घट्दै नघटेमा, छाती दुखाइ बढेमा, दैनिकीमै असर गरेमा, असामान्य लक्षण देखा परेमा, लामो समय खोकी निको नभएमा, श्वास-प्रश्वासमा समस्या भएमा र लक्षणहरु हप्ता दिन बित्दा पनि कम नभएमा अस्पताल जानुपर्छ।’

    भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैँ निको हुने मान्यता छ । धेरै दिनसम्म निको नहुँदा थप जटिलता आउन सक्ने भएकाले अवस्था हेरेर अस्पताल जान डा.पुनको सुझाव छ।साथै बालबालिका, वृद्धवृद्धा र रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिहरूमा जटिलता देखा परेमा पनि तुरुन्त चिकित्सकको परामर्श लिनुपर्ने पुनले बताए।

    सङ्क्रमणबाट बच्ने उपाय

    मौसमी स्वास्थ्य समस्याबाट बच्न आफ्नो प्रतिरोधात्मक क्षमता बढाउने खालका खानेकुरा खान र झोलिलो पदार्थको सेवनमा बढी जोड दिन पुन सुझाउँछन्।‘संक्रमणबाट बच्न व्यक्तिगत सरसफाइको बारेमा विशेष ध्यान दिनुपर्छ । घर वरिपरि सफा राख्नुपर्छ । भीडभाडमा जानुहुँदैन । खोक्दा, हाच्छ्युँ गर्दा सधैँ रुमालले मुख छाप्नुपर्छ।’

    साथै, ज्वरो तथा रुघाखोकी लाग्दा चिकित्सकको परामर्शबिना कप सिरप, साइनेक्स र एन्टिबायोटिक जस्ता औषधि सेवन नगर्न उनको आग्रह छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend