काठमाडौंः लक्षित वर्ग निःशुल्क उपचार कार्यक्रममा काठमाडौं महानगरपालिका भित्र भएका अस्पतालले एक वर्षमा २६ जनाको शल्यक्रिया सहित १५५ जनालाई निःशुल्क उपचार गरेका छन् ।
लक्षित वर्ग निःशुल्क उपचार गराउनुपर्ने कानूनी व्यवस्था अनुरूप उक्त सङ्ख्यामा बिरामीको उपचार गराइएको काठमाडौं महानगरपालिका शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाले ‘अस्पतालमा निःशुल्क उपचार गराउने सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । यसमा भएको व्यवस्था कार्यान्वयन गराउन सबै निजी अस्पताललाई पत्राचार गरेर अनलाइन प्रणाली मार्फत् २०८० फागुन १ गते देखि सेवा शुरू गराइएको थियो । यस प्रणालीमा महानगरपालिका भित्रका ५२ वटा अस्पताल आबद्ध छन् । यसमा तीन सय ७४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् ।
आकस्मिक सेवा, फेमिली मेडिसिन, आँखा, नाक, कान, नसाको रोग, क्यान्सर, दम, क्षयरोग जस्ता छाती सम्बन्धी (पल्मोलोजी), सर्जरी (शल्यक्रिया), स्त्री तथा प्रसूति रोग सेवा, पेट सम्बन्धी सेवा, आँखाको उपचार सेवा लिएका हुन् ।
यसरी सेवा लिनेमध्ये सबैभन्दा धेरै ३५ जनाले फेमिली मेडिसिन र २६ जनाले शल्यक्रिया सेवा प्राप्त गरेका छन् । यो सेवा ३२ वटा अस्पतालबाट प्रदान गरिएको हो । यसमा सबैभन्दा धेरै अन्नपूर्ण न्यूरोलोजिकल अस्पतालले २९ जनालाई, काठमाडौं मेडिकल कलेजले १७ जनालाई, काठमाडौं मोडेल अस्पतालले १४ जनालाई, नेपाल आँखा अस्पतालले १२ जनालाई सेवा दिएका छन् । अन्य अस्पतालहरूले बढीमा सात जनालाई र कम्तीमा एक जनालाई सेवा दिएका छन् । निःशुल्क उपचार सेवा लक्षित वर्ग (विपन्न, असहाय र बेवारिसे) का लागि हो ।
जनस्वास्थ्य निरीक्षक एवं कार्यक्रमका स्थानीय स्रोत व्यक्ति धनेन्द्र श्रेष्ठका अनुसार संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि सम्मिलित एकीकृत अनुगमन प्रणालीबाट उपचार सेवालाई प्रभावकारी बनाउन सम्भव छ ।
लक्षित वर्गले तीन वटा विधिमध्ये कुनै एकबाट सेवा लिन सक्छन् । एक विपन्न परिचयपत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ । दुई, विपन्न परिचयपत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सर्जमिन मुचुल्का सहितका कागजपत्र लिएर सेवा लिन सकिन्छ ।
तीन, यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरूले आफू विपन्न भएको प्रमाण लिएर काठमाडौं महानगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सकिनेछ । प्रमाण प्रमाणित हुन सकेमा एकाइले सिफारिस गर्नेछ ।




.gif)





