images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • हेटौंडा औद्योगिक क्षेत्रका ३ उद्योगको सम्झौता...

हेटौंडा औद्योगिक क्षेत्रका ३ उद्योगको सम्झौता रद्द, सम्पत्ति लिलामी अघि बढ्यो

हेटौंडा औद्योगिक क्षेत्रका ३ उद्योगको सम्झौता रद्द, सम्पत्ति लिलामी अघि बढ्यो

images
images
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • काठमाडौं ।   हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन उद्योगको सम्झौता रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको छ । विगत तीन/चार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि र बानिया मल्टी प्रोडक्ट प्रालिमाथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो।

    images
    images

    विभिन्न कारणले बन्द रहेका ती उद्योगका सञ्चालकलाई सम्पर्कमा आउन पटकपटक पत्राचार गर्दै आए पनि सम्पर्कमा आउन नचाहनेले कारबाही अघि बढाइएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सङ्गीता कुँवरले बताइन्। “हामीले उद्योग सञ्चालकलाई निरन्तर फोन गरेर र पत्रचार गरेर बोलायौँ”, प्रमुख कुँवरले भनिन्, “तर उहाँहरु आउनुभएन, त्यसैले सम्झौता रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएका हौँ, सम्पत्ति लिलामीका लागि सूचना जारी भइसकेको छ, छिट्टै प्रक्रिया पुर्‍याएर लिलामी गर्छौँ।” 

    यसैबीच हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा आएका छन्। योसँगै औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको सङ्ख्या एक सय ४६ पुगेको औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ।पछिल्लो पटक थ्रिस्टार ग्रुपले रङ्गीन तथा सादा कर्कट पाता तथा बाबा मेनिफ्याक्चर प्रालिले टिनका स–साना बाकस उत्पादन गर्न सुरु गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए।

    images
    images

    अमेरिकी सरकारको आर्थिक सहयोगमा २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल एक सय ४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । कुल तीन हजार दुई सय २८ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र हाल १० उद्योग निर्माणाधीन अवस्थामा छन् ।  कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार एक सय ७८ रोपनी, खाली जमिन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल पाँच सय ९७ रोपनी छ।

    औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ रहेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्रहाताभित्र रहेका उद्योग प्रतिष्ठानको आवश्यकता र मागका आधारमा औद्योगिक भवन, गोदाम, क्वाटर भवन र जग्गाको भाडा लिँदै आएको छ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend