images

२०८३ आश्विन १८ गते

images
images
images

माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ।तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत्गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो ।

    images
    images

    सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिए ।“हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ”, उनले भने, “विद्युत्गृहमा ‘कन्ट्रोल रुम’ र पानी नदीमा मिसाउने (टेलरेस) बाहेक भौतिक संरचनाको निर्माण सकिएको छ ।”

    तुँदी पावरका हाइड्रो मेकानिकल इन्जिनियर घनश्याम भट्टराईले विद्युत्गृहभित्र टवाइन, जेनेरेटरका उपकरण जडानको काम तीव्रताका साथ भइरहेको बताए ।रघुगङ्गा–७, चिमखोलामा बाँध र रघुगङ्गा–४, दग्नामको फेदीमा विद्युत्गृह रहेको यस आयोजनाको सुरुङ चार हजार नौ सय मिटर लामो छ ।“आउटलेटबाट विद्युत् गृहसम्म ६ सय ८० मिटर लामो पेनस्टक पाइप जडानको काम करिब एक सय मिटर मात्र बाँकी छ । विद्युत्गृहबाट उत्पादन भएको विद्युत्लाई प्रसारण लाइनमा जोड्ने स्विचार्ड निर्माण थालिएको छ,” उनले भने ।

    images
    images

    तुँदी पावरले राहुघाटमा निर्माण गरेको अर्को ३७ दशमलव पाँच मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको एक महिनाभित्र परीक्षण सुरु गर्ने तयारी भइरहेको भट्टराईले जानकारी दिए । उनका अनुसार रघुगङ्गा–८ को बन्दीमा बाँध, रघुगङ्गा–७ को चिमखोलामा विद्युत्गृह र पाँच हजार तीन सय २८ मिटर लामो सुरुङको सबै काम सकिएको छ ।मङ्गले राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्नेगरी अपर राहुघाटको बाँध निर्माण गरिएको छ । दुई वटै आयोजनाको अनुमानित लागत रु १३ अर्ब रहेको तुदीँ पावरका इन्जिनियर भट्टराईले उल्लेख गरे ।

    अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३, अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेसनबाट चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ । राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त उर्जा प्रालिले २१ दशमलव तीन मेगावाट क्षमताको ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend