हुम्ला-कर्णाली कोरिडोरको हुम्ला खण्डको सलीसल्लादेखि खार्पुनाथ गाउँपालिका-५ को खार्पुसम्मको सडक १८ दिनदेखि अवरुद्ध छ । हिल्सा सिमकोट सडक आयोजनाले अवरुद्ध सडक मर्मत नगर्दा यातायत सेवा अवरुद्ध भएको हो ।
गाडी चालक पुरन रावतले गत असार २० गतेबाट कर्णाली कोरिडोरको सर्केगार्ड गाउँपालिकाको सलीसल्लादेखि खार्पुनाथ गाउँपाकिलाको खार्पु सडक खण्डमा यातायात सेवा बन्द रहेको बताउनुभयो । उहाँले सलीसल्ला सर्केगार्ड खण्डको न्यासी र सर्केगार्ड खार्पु खण्डको लाली बगरदेखि खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारसम्म एघार स्थानमा पहिरो गएर सडक भत्किएको कारण यातायात सेवा अवरुद्ध रहेको बताउनुभयो ।
हिल्सा सिमकोट सडक आयोजना, जिल्ला प्रशासन कायाृलय र सम्बन्धित दुई वटै गाउँपालिकामा सडक अवरुद्ध सम्बन्धि जानकारी गराउँदा पनि कुनै सुनुवाई हुन नसकेको उहाँले बताउनुभयो । सडकमा पहिरो ठुलै गएको कारण यातायात साधनका मालिकहरुले मर्मत गर्न नसक्ने भएपछि सरोकारवाला निकायसंग हारगुहार गर्दा हालसम्म मर्मत गर्ने कार्य हुन नसकेको उहाँले बताउनुभयो ।
अर्का चालक अमृत पुनले पहिरोले अवरुद्ध सडक मर्मतका लागि गाउँपालिकामा कुरा गर्दा बर्खा भरखर सुरु भएको र फेरी पनि पहिरो जान सक्ने भएको कारण अहिले मर्मत गरेर कामै नभएको जवाफ आउने गरेको बताउनुभयो । उहाँले यो खण्डमा खार्पुमा आउने १४ वटा र सर्केगार्ड आउने चार वटा मालबाहक सवारी साधन सडकमा अलपत्र अवस्थामा परेको बताउनुभयो ।
प्रहरी निरीक्षक नरेन्द्र चन्दले लामो समयदेखि सलीसल्ला खार्पु सडक अबरुद्ध भएको बताउँदै सम्बन्धित निकायले मर्मतका लागि ध्यान दिन नसकेको बताउनुभयो । उहाँले आफूले पनि आयोजनालाई जानकारी गराएको दश दिन बित्दासम्म मर्मत कार्य हुन नसकेको बताउनुभयो । यो खण्डको सडकको दुरी उनान्चास किलोमिटर रहेको छ । ठाउँठाउँका सामान बोकेका गाडीहरु अलपत्र अवस्थामा रहेको कारण प्रहरीले दिनको एक पटक गस्ती दिएर सुरक्षा दिई रहेको उहाँले बताउनुभयो ।
यस सम्बन्धमा आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले यो खण्डको सडकको निर्माण कार्य पुरा भई नसकेको कारण सम्बन्धि निर्माण कम्पनीले सडक मर्मतका लागि जानकारी गराईएको बताउनुभयो । सडक मर्मत नभएपछि यो खण्डमा यात्रुहरु पहिलेको जस्तै पैदल हिड्न बाध्य भएका छन् । कर्णाली कोरिडोर कै कवाडीदेखि सलीसल्लासम्मको ३९ किलो मिटर सडकको खच्चामा दुई दिन अगाडी पहिरोले भत्केको सडक मर्मत गरिएपछि यातायात सेवा सुचारु भएको छ ।




.gif)





