काठमाडौं । १४ फेब्रुअरी लाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको रूपमा विश्वभर मनाउने गरिन्छ । भ्यालेनटाइन डे पश्चिमी संस्कृति भए पनि पछिल्लो समय नेपालमा युवायुवतीले विशेष रूपमा मनाउने गरेको पाइन्छ ।यस दिन प्रेमको प्रतीकको रूपमा गुलाबको फूल आदानप्रदान गर्ने गरेको पाइन्छ । नेपालमा वार्षिक रूपमा डेढ अर्ब फूलको आर्थिक कारोबार हुने गरेको छ । लामो समयदेखि काठमाडौंको कमलादीमा पुष्प व्यवसाय गर्दै आएका श्रीकृष्ण कार्कीका अनुसार भ्यालेन्टाइनको लागि गुलाबको फूलहरूको उत्पादन कम हुने र माग उच्च हुने गरेको बताए ।
उनले भने,‘भ्यालेन्टाइनको लागि गुलाबको फूलहरू नेपालको उत्पादनले पुग्दैन । प्राय भारतबाट नै आउँछ । उत्पादन कम हुने तर माग उच्च हुने गरेको छ । त्यसैले धेरैजसो आयात नै हुने हो । अहिलेसम्म फूलमा भारतमा नै निर्भर छ । त्यही भएर मूल्य पनि बढी पर्छ । स्वदेशी उत्पादन भयो भने उपभोक्ताले कम मूल्यमा पाउँथे ।’उनले नेपाली गुलाबको मूल्य प्रतिगोटा ८० रुपैयाँ भए पनि भ्यालेन्टाइनको लागि भारतबाट आयात गरेर १५० रुपैयाँसम्म बेच्नुपरिरहेको बताए । उनले भने, ‘ग्राहकहरूलाई कम मूल्यमा दिन पाए हुने थियो भन्ने लाग्छ । हामीले खरिद गर्दा नै बढी मूल्य पर्छ । यति बेला १५० रुपैयाँमा बेच्नु परिरहेको छ । नेपालकै उत्पादन हुने हो भने ८० रुपैयाँमा नै दिन सकिन्थ्यो । भ्यालेन्टाइन्स डे बाहेक अन्य दिन गुलाबको फुल ७० वा ८० रुपैयाँमा विक्री गर्छौँ ।’
कार्कीका अनुसार तुलनात्मक रूपमा व्यवसाय कठिन अवस्थामा गुज्रिरहेको छ । पुष्प व्यवसाय बढी जसो विवाहको मौसममा मात्र फस्टाउने गरेको उनले सुनाए । सिजनेवल व्यवसाय भएकाले व्यवसाय टिकाउन कठिन भइरहेको उनले बताए । ‘नेपालमा उत्पादन कम हुँदा विदेशबाट आयात गर्नुपर्छ । व्यवसायी र ग्राहक दुवैलाई मार परिरहेको छ,’ उनले भने । उनले उपहारका रूपमा फुल दिने परम्परा बढ्दै गएको बताए । ‘फूल किन्न आउने अलि धेरै युवा हुन्छन् । सबै उमेर समूहका आउँछन् । फूल दिने परम्परा बढ्दै गएको छ । प्रणय दिवसकै कुरा गर्दा पनि अलि बढी युवाहरू नै आइरहेका हुन्छन् । टेडी, फुल र चकलेट युवाहरूको रोजाइमा छ । कुनै दिन ३० रुपैयाँमा बेच्दै आएको गुलाब अहिले १५० रुपैयाँमा बेच्नुपरिरहेको छ,’ उनले भने । दरबारमार्गमा व्यवसाय गर्दै आइरहेका अर्का व्यापारी सुशील केसीका अनुसार भ्यालेनटाइन डेमा खपत हुने गिफ्ट आइटम र फूलहरू नै बढी हुने गरेको छ ।
करिब २३ वर्षदेखि व्यवसाय गर्दै आइरहेको सुनाउँदै उनले फुल एवम् गिफ्ट आइटहरूको व्यापार राम्रो भइरहेको बताए । ‘पहिले भन्दा व्यापार राम्रो हुँदै गइरहेको छ । पसलहरू धेरै नै छन्, प्रतिस्पर्धा बढी छ । फुल एवम् गिफ्टका आइटमहरू नेपालमा उत्पादन कम हुने भएकाले भारतबाट ल्याउनु परेको छ । भ्यालेन्टाइन डे का लागि काठमाडौंमा धेरै फूलहरू भारतबाट ल्याउँछौँ । ९० प्रतिशत भ्यालेन्टाइन डे का सामान भारतबाटै आउँछ । नेपालमा १० प्रतिशत मात्रै उत्पादन हुन्छ ।’
काठमाडौं वानेश्वरका अर्का व्यापारी अंशु विक्रमका अनुसार भ्यालेन्टाइनमा गुलाब लिल्ली, जर्वेराजस्ता फुलहरुको बढी खपत हुने गरेको छ । ‘फुलको बजार राम्रो छ, बिशेषत बिवाहको समयमा धेरै विक्री हुन्छ । गुलाबका फूलहरू प्रायः इन्डियाबाट नै आउँछ । नेपालमा त्यति उत्पादन हुँदैन । गुलाबको होलसेल मूल्य ७०/८० रुपैयाँ छ,’ उनले भने ।फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार प्रत्येक वर्ष फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे मा पाँच करोड १० लाख रुपैयाँ बराबरको चार लाख २५ हजार स्टिम गुलाब खपत हुने गरेको भए पनि स्थानीय उत्पादन अपुग हुने गरेको छ ।भारतबाट ७५ प्रतिशत गुलाब आयात हुने गरेको छ । नेपालमा मौसम अनुकूल मात्रै उत्पादन हुने र जाडो मौसमका कारण स्थानीय उत्पादन कम हुने हुँदा आयातमा भर पर्नु परेको व्यवसायीको भनाइ छ ।




.gif)





