काठमाडौंः प्रतिनिधिसभाबाट दुई विधेयक पारित भएका छन्। सभाको आइतबारको बैठकले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ सर्वसम्मति र ‘विधायन विधेयक, २०८१’ बहुमतले पारित गरेको हो।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव राखेका थिए।
यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरे।
त्यसअघि बैठकमा ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा प्रेम सुवाल, अशोक कुमार चौधरी, किरण कुमार साह, ज्ञानेन्द्र बहादुर कार्की, देवेन्द्र पौडेल, शिव नेपाली, सुमना श्रेष्ठ र अच्युत मैनालीले भाग लिए।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादर जस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाई सो उपर हुने सजाय र अदालती प्रक्रियालाई पारदर्शी एवं सरलीकृत बनाउन संशोधन विधेयक ल्याउनुपरेको बताए।
यस्तै ‘विधायन विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा विमला सुवेदी, सन्तोष परियार र ध्रुव बहादुर प्रधानले भाग लिए। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले नागरिक अधिकारलाई अझ सशक्त बनाउन तथा प्रक्रियालाई पारदर्शी र व्यावहारिक बनाउन सो विधेयक अघि बढाइएको स्पष्ट पारे।
सभामुख देवराज घिमिरेले कानुनमन्त्री चौरसियाले जवाफ दिने क्रममा सो विधेयकमा समावेश गर्नेगरी सरकारका तर्फबाट स्वीकार गर्नुभएको संशोधन निर्णयार्थ प्रस्तुत गरी ती संशोधन स्वीकृत भएको घोषणा गरे।
प्रतिनिधिसभाको बैठक आज सोमबार अपराह्न १ बजे बस्नेछ।




.gif)





