काठमाडौंः म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलन सम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । सेयर सदस्य तथा बचतकर्ताको सेयर, बचत तथा संस्थाका कोषहरु हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको सिफारिसका आधारमा ५ जना सञ्चालक, व्यवस्थापक र कागजातहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले थप प्रमाण जुटाउन थालेको छ ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा ६ हजार बचतकर्ता रहेको विसं २०६५ मा खुलेको कुमारी सहकारीको १ अर्ब ४९ करोड अपचलन भएको उल्लेख छ । सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउने जस्ता व्यक्तिगत स्वार्थमा प्रयोग भएको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
अनुसन्धानका लागि प्रहरीले कुमारी सहकारीका ५ जना सञ्चालक र व्यवस्थापकलाई माघ २० गते पक्राउ गरेको थियो । प्रहरी निरीक्षक सागर पौडेलले कुमारी सहकारीको विषयमा अनुसन्धानका लागि प्रमाण जुटाउन बचतकर्ताबाट उजुरी लिने काम भइरहेको बताए ।
माघ २१ गते प्रहरीले सार्वजनिक सूचना जारी गरेर पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायत प्रमाणको सक्कल साथमा लिई सम्पर्कमा आउनका लागि अनुुरोध गरेको थियो । सहकारीका पूर्वसञ्चालक समितिका उपाध्यक्ष रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, तत्कालीन व्यवस्थापक रूद्र गुरूङ, सञ्चालक समितिका पूर्वअध्यक्ष मन प्रसाद थजाली, थमबहादुर गर्बुजा र सञ्चालक देवी कुमारी थापा प्रहरीको हिरासतमा छन् ।
बेनी नगरपालिका–१ का ३६ वर्षीया थापा गत स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट जिसस प्रमुखमा निर्वाचित भएका थिए । अदालतले अनुुसन्धानका लागि उनीहरुलाई दोस्रो पटक माघ २८ गतेसम्म हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरुमाथि बचतकर्ताको बचत रकम हिनामिना भएको सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बचतकर्ता समस्यामा
अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका ५० वर्षीय डिल बहादुर गर्बुजाले बेनीको कुमारी बहुुउद्देश्यीय सहकारी संस्थामा १२ वर्ष अघि मुद्दती खाता खोलेर राखेको ४३ लाख बचत फिर्ताका लागि धाउन थालेको २ वर्ष पूरा भयो। “१२ वर्ष कतारमा श्रम र पसिना बगाएर कमाएको सबै पैसा राम्रो ब्याजको प्रलोभनमा परेर सहकारीमा राखेको थिए”, गर्बुजाले भने, “सहकारीले बचत फिर्ता नगरेपछि हामीहरु विचल्लीमा परेका छौँ ।”
१० लाख १४ हजार बचत गरेकी घराम्दीकी ५० वर्षीया डिलशोभा गर्बुजाले सहकारीमा रकम डुबेपछि घर ब्यवहार चलाउन, छोराछोरी पढाउन समस्या भएको गुनासो गरिन । “श्रीमानले विदेशमा दुःख गरेर कमाएको र मैले कुखुुरा चल्ला बेचेर जुटाएको पैसा राखेको वर्षौं सम्म पनि सहकारीले फिर्ता दिएको छैन”, उनले भने, “आफ्नै पैसाका कारण आफैँले दुःख पाउने अवस्था आयो ।”
डिल बहादुर, डिलसोभा, छबहादुर पाइजा लगायत १३ जनाले पीडित शुक्रबार सहकारीमा फसेको रकम उठ्ने आशामा २ वटा जिप रिजर्भ गरेर प्रहरीमा उजुरीका लागि बेनी आएका थिए । उहाँहरुको एक करोड भन्दा बढी रकम उक्त सहकारीमा फसेको छ । बेनी नगरपालिका–८ मा रहेको उक्त सहकारीबाट पीडित हुने बचतकर्ता घराम्दीका मात्र छैनन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पछिल्लो पाँच दिन यता उक्त सहकारीमा डुबेको बचत रकम फिर्ता दिलाइ दिन आग्रह गर्दै उजुरी गर्न आउनेको भीड लागेको छ ।




.gif)





