images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • ‘सूचना प्रविधि क्षेत्रबाट वार्षिक रु १०...

‘सूचना प्रविधि क्षेत्रबाट वार्षिक रु १० खर्ब बढी आम्दानी गर्न सकिन्छ’

‘सूचना प्रविधि क्षेत्रबाट वार्षिक रु १० खर्ब बढी आम्दानी गर्न सकिन्छ’

images
images
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • काठमाडौँ ।  सूचना प्रविधि क्षेत्रका जानकारहरूले नेपालले सूचना प्रविधि (आइटी) जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक रु १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् । नेपाली काँग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनको आजको समूहगत छलफलमा उनीहरूले सो धारणा व्यक्त गरेका हुन् । काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी नेपाल ‘स्टार्टअप’ र ‘एसएमई’ सम्मेलनको दोस्रो दिनको ‘उद्यमशीलता र जनशक्ति विकास आइटी क्षेत्रको लागि तयारी’ शीर्षकको सत्रमा भएको छलफलका वक्ताहरूले आइटीमा थोरै लगानी गर्नसके राम्रो परिणाम हात पार्न सकिने बताएका हुन् ।

    images
    images

    इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपालको आइटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको बताए । आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्नसकेमा वार्षिक रु १० खर्बभन्दा बढीको आइटी सेवा निर्यात गर्न सकिने उनको भनाई थियो ।उनले भने, “अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौं । हरेक आइटी कलेजहरूमा कोटा नछुट्याइ सहजै आइटी पढ्न सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लबिङ गरिरहेका छौं ।” अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आइटीले उछिनिसकेको छ ।

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन प्रा.डा. महाननन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यावसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताए । उनले पढाइमा सरकारले प्राविधिक पक्षमा ध्यान दिनुपर्ने उल्लेख गरे । यसका लागि त्रिभुवन विश्वविद्यालयले निरन्तर आफ्नो तर्फबाट काम गरिरहेको पनि उनले जानकारी गराए । उनले थपे । “सरकारले नीति त ल्याउँछ तर प्राविधिक क्षेत्रमा विद्यार्थीलाई कसरी जोडने भन्ने विषय समेटिएको छैन । हरेक संकायमा प्राविधिक र व्यावसायिक सिप सिकाउने गरी पाठ्यक्रम निमार्ण गर्ने र त्यसलाई व्यवहारिक रूपमा लागु गर्न आवश्यक छ ।”

    images
    images

    सीनासका कार्यकारी निर्देशक मिर्गेन्द्र कार्कीले परिवर्तनशील समयअनुसार सपना देख्ने, लगानी गर्ने, र प्रयोग गर्ने क्षेत्रलाई छुट्याएर त्यसको ब्रान्डीङसहितको प्रचार गर्न आवश्यक भएको बताए । उनले देशको भुगोल अनुसारको उत्पादित सामग्रीको राज्यले प्रवर्द्धन गर्न सकेको अवस्थामा समग्र आर्थिक रूपान्तरण गर्न सहज हुने उल्लेख गरे । योङ इनोभेसनका संस्थापक विभूषण विष्टले राज्यले आइटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याएको अवस्थामा अहिलेको तुलानामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यहीअनुसार सेवा निर्यात गर्न सकिने बताए ।

    उनले थपे, “उद्यमशीलता एक माइन्डसेट हो । उद्यमी र सर्वसाधारण मानिसबीच के भिन्नता छ भने सामान्य मानिसले समस्या देखिरहेको हुन्छ भने उद्यमीले अवसर देखिरहेको हुन्छ । त्यो समस्या समाधान गर्ने प्रयास गरिरहेको हुन्छ । कुनै पनि उद्यमीले त्यसलाई कार्यान्वयन नगरेसम्म त्यो अवसर वा त्यो ‘आइडीया’को मूल्य शून्य नै रहन्छ । शिक्षामा उद्यमशीलतालाई जोड्न आवश्यक छ र उद्यमशीलता पढेको व्यक्तिले मात्रै स्टार्टअप गर्नुपर्छ भन्ने हुँदैन ।”

    त्यस्तै खिम्भु टेकका सीईओ कार्भिका थापाले स्टार्टअप सुरु गर्दा आफ्नो रुचीको विषय छानेर काम गर्न सकेको अवस्थामा मात्रै सफलता हात पार्न सकिने बताए । उनले भनिन्, “सुरुमै उद्यमशील बन्ने आधारको लागि सिप विकास आवश्यक छ । जे विषयमा क्षमता छ, त्यसैका लागि प्रयत्न गनुपर्दछ ।” काँग्रेस केन्द्रीय कार्यालयमा बुधबारदेखि सुरु भएको सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवर्द्धनसमेत हुने विभागका संयोजक उर्मिला थपलियाको विश्वास छ ।रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend