उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकामा चालु आर्थिक वर्षको पुँजीगत खर्च अपेक्षाकृत रूपमा सुस्त गतिमा अघि बढिरहेको छ। चालु वर्षको पहिलो छ महिनासम्म नगरपालिकाले पुँजीगत बजेटको करिब ३२ प्रतिशत मात्र खर्च गर्न सकेको छ।
नगरसभाले चालु आर्थिक वर्षका लागि ९९ करोड १९ लाख ३६ हजार रुपैयाँ पुँजीगततर्फ विनियोजन गरेकोमा हालसम्म २४ करोड १५ लाख ९७ हजार २ सय ५९ रुपैयाँ मात्र खर्च भएको नगरपालिकाका सूचना अधिकारी विष्णु खत्रीले जानकारी दिए।तर, चालुतर्फको बजेट खर्च भने तुलनात्मक रूपमा बढी रहेको छ। ९३ करोड ६२ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको चालुतर्फ हालसम्म ३७ करोड ५६ लाख १६ हजार १ सय ८१ रुपैयाँ खर्च भइसकेको खत्रीले बताए।
नगरसभाले यो आर्थिक वर्षका लागि १ अर्ब ९२ करोड ८१ लाख ५७ हजार रुपैयाँको कुल बजेट विनियोजन गरेको छ। जसमध्ये चालु र पुँजीगत गरी हालसम्म ६१ करोड ७२ लाख १३ हजार ४ सय ४० रुपैयाँ खर्च भइसकेको छ। चालुतर्फको खर्च सन्तोषजनक रहे पनि पुँजीगत खर्च सुस्त गतिमा रहेको देखिन्छ।प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलका अनुसार भौतिक पूर्वाधारसँग सम्बन्धित योजनाहरूको काम भएकाले पुँजीगत खर्चको यकिन विवरण तत्काल निकाल्न सकिँदैन।
निर्माण कार्य भइरहेकाले रनिङ बिल, भुक्तानी प्रक्रियामा रहेका योजनाहरू पूरा भएपछि खर्चको प्रतिशत उल्लेख्य रूपमा बढ्ने उनको भनाइ छ।विश्व बैंकको सहयोगमा बजार क्षेत्रमा सडक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको र अन्य पूर्वाधार निर्माण कार्यहरू पनि जारी रहेकाले पुँजीगत खर्च देखिएको भन्दा बढी हुने सिग्देलले बताए।त्रियुगाले ११ नं. गाईघाट बजारको टाउन प्लानिङ सडक तथा अन्य वडाका लिङ्क सडकहरू स्तरोन्नतिसहित कालोपत्रे गर्ने परियोजनाहरू सञ्चालन गरिरहेको छ। विश्व बैंकको ऋण सहयोगमा ६५ करोड बढी को परियोजना अन्तर्गत गाईघाटको मुख्य बजार, बोक्से, पुरानो गाईघाट, असारी लगायतका क्षेत्रमा सडक तथा ढल निर्माण भइरहेको छ।
तर, आर्थिक वर्षको पहिलो ६ महिनासम्म कम्तीमा एक तिहाइभन्दा बढी बजेट खर्च हुनुपर्नेमा चौथाईमै सीमित रहनुले बजेट फ्रिज हुने खतरा रहेको नगरवासीहरू बताउँछन्।नगरप्रमुख बसन्त बस्नेतले नगरसभाले विनियोजन गरेको बजेट समयमै खर्च गर्न योजना सम्झौता र कार्यान्वयनको प्रक्रिया तीव्र बनाइएको बताए। उपभोक्ता समिति गठन गर्दै वा ठेक्का प्रक्रियामार्फत छिटोभन्दा छिटो काम अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे।
त्यस्तै, उपप्रमुख महेश्वरी राई ले योजनाहरूको नियमित अनुगमन गरी भौतिक तथा वित्तीय प्रगति सुनिश्चित गर्न निरन्तर पहल भइरहेको बताइन्। उनले निर्माणाधीन योजनाहरूको गुणस्तर कायम गर्दै असार मसान्तभित्रै सम्पन्न गरिए बजेट फ्रिज हुन नपर्ने धारणा व्यक्त गरिन्।




.gif)





