काठमाडौं । जेन्सन हुआङको नेतृत्वमा रहेका विश्वका ५०० धनी व्यक्तिहरूले एकैदिन १०८ अर्ब डलर (करिब १४८ खर्ब ८८ अर्ब रुपैयाँ) गुमाएका छन् । चिनियाँ एआई विकासकर्ता डिपसिकसँग सम्बन्धित प्राविधिक क्षेत्रमा आएको मन्दीका कारण सोमबार उनीहरूले यति ठूलो नोक्सानी बेहोर्नुपरेको हो ।
यसैका कारण अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सँग जोडिएका अर्बपतिहरूलाई सबैभन्दा बढी घाटा भएको छ । फोर्ब्सका अनुसार एनभिदिया कर्पका सह-संस्थापक जेन्सन हुआङको सम्पत्ति एकै दिन २०.८ अर्ब डलरले घटेको छ । यो भनेको उनको कूल सम्पत्तिको लगभग २० प्रतिशत हो ।
त्यस्तै, ओरेकल कर्पका सह-संस्थापक ल्यारी एलिसनले २७.६ अर्ब डलर गुमाएका छन् । यो उनको कूल सम्पत्तिको १२ प्रतिशत हो । डेल इंकका माइकल डेलले सम्पत्ति १२.५ अर्ब डलरले घटेको छ । त्यस्तै बाइनान्स होल्डिङ्स लिमिटेडका सह-संस्थापक चाङपेङ झाओले १२.१ अर्ब डलर गुमाएका छन् ।फोर्ब्स रियल टाइम बिलिनियर
प्राविधिक क्षेत्रका दिग्गजहरूले सामूहिक रूपमा ९४ अर्ब डलर गुमाएका छन्, जुन ब्लुमबर्ग इन्डेक्सको कुल गिरावटको लगभग ८५ प्रतिशत हो । यसैबीच नास्डाक कम्पोजिट इन्डेक्स ३.१ प्रतिशत र एसएन्डपी ५०० (S&P 500) १.५ प्रतिशतले घटेको छ ।सन् २०२३ देखि नै एआई मोडल विकास गरिरहेको चीनको हाङझाउस्थित डिपसिक कम्पनी धेरै पश्चिमी लगानीकर्ताहरूको नजरमा यसै साता मात्र आएको हो । डिपसिकको नि:शुल्क च्याटबट एप डिपसिक आरवन विश्वव्यापी रूपमा डाउनलोड चार्टको शीर्ष स्थानमा पुगेको थियो । धेरै नयाँ प्रयोगकर्ताहरू एकैपटक एपमा जोडिएपछि डिपसिकले एपलाई अनलाइन राख्न सङ्घर्ष गर्नुपर्यो । यसका कारण एपले चिनियाँ फोन नम्बर भएका प्रयोगकर्ताहरूलाई मात्र साइन अप गर्न दिने नियम बनाउनुपरेको थियो ।ब्लुमबर्ग बिलिनियर इन्डेक्स
डिपसिकले ५६ लाख डलरको लागतमा एआई मोडल विकास गरेको बताएको छ । यसले सिलिकन भ्यालीको ठूलो लगानीबिना बलियो मोडल विकास गर्न सकिन्छ भन्ने धारणालाई चुनौती दिएको छ । यसले पश्चिमी एआई आपूर्ति शृङ्खलामा जोडिएका अर्बपतिहरूलाई ठूलो धक्का लागेको छ ।
ओपनएआईले सन् २०२२ को नोभेम्बरमा च्याटजीपीटी सार्वजनिक गरेपछि मेटा प्लेटफर्म इंक, अल्फाबेट इंक र माइक्रोसफ्ट कर्प जस्ता एआई हाइपरस्केलरको मूल्याङ्कन बढेको थियो । जसले गर्दा उनीहरूका मालिकहरूले अर्बौं डलर कमाएका थिए । यी कम्पनीहरूले ठूलो मात्रामा सेमिकन्डक्टर र ऊर्जा आपूर्तिमा लगानी गरेर एआई प्रणाली विकास र सञ्चालन गर्दै आएका थिए ।मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कम्पनीले यस वर्ष एआई सम्बन्धी परियोजनामा ६० अर्बदेखि ६५ अर्ब डलर खर्च गर्ने योजना बनाएको बताएका छन् ।
यति धेरै लगानी गर्दा पनि राजस्व खासै नबढेको अवस्थामा बजारले अमेरिकी प्राविधिक स्टकहरूलाई उच्च मूल्याङ्कन दिएको छ । यसले गर्दा ती कम्पनीका मालिकले ऐतिहासिक रूपमा सम्पत्ति कमाएका छन् । एआईको चर्चाले सबैभन्दा बढी फाइदा चिप निर्माता कम्पनी एनभिदियालाई भएको देखिएको छ । हुआङको सम्पत्ति सन् २०२३ को सुरुवातदेखि हालसम्ममा लगभग आठ गुणाले बढेर १२१ अर्ब डलर पुगेको थियो । जुकरबर्गको सम्पत्ति ३८५ प्रतिशतले बढेर २२९ अर्ब डलर र अमेजन डटकमका जेफ बेजोसको सम्पत्ति १३३ प्रतिशतले बढेर २५४ अर्ब डलर पुगेको थियो ।
हुआङ र एलिसनले ठूलो नोक्सानी बेहोरे पनि अन्य ठूला प्राविधिक अर्बपतिहरूको सम्पत्ति भने जोगिएको छ । जुकरबर्गको सम्पत्ति दिनको अन्त्यमा ४.३ अर्ब डलरले बढेको छ भने बेजोसको सम्पत्ति ६३२ मिलियन डलरले बढेको छ ।डिपसिकले च्याटजीपीटी र एन्थ्रोपिकको क्लाउडलाई चुनौती दिने किसिमको मोडल एकदमै कम लागतमा विकास गरेपछि लगानीकर्ताहरूले सिलिकन भ्यालीले ठूलो लगानी गर्ने कुरामाथि प्रश्न उठाएका छन् ।
डिपसिकले ठूलो लगानी र उच्च प्रविधियुक्त चिप्समा निर्भर नरहनुको मुख्य कारण अमेरिकी सरकारले उन्नत चिप्सको निर्यातमा कडा नियन्त्रण लगाएपछि चिनियाँ कम्पनीहरूले शक्तिशाली जीपीयूहरूमा पहुँच पाउन नसक्नु हो । स्केल एआईका सीईओ अलेक्जेन्डर वाङले सीएनबीसीलाई दिएको एक अन्तर्वार्तामा बताएअनुसार निर्यात नियन्त्रणका बावजुद डिपसिक र अन्य चिनियाँ विकासकर्ताहरूसँग सिलिकन भ्यालीले सोचेभन्दा धेरै जीपीयूहरू हुन सक्छन् ।वाङले एनभिदियाको उच्च प्रविधियुक्त एआई चिप एच१०० लाई उल्लेख गर्दै भने, “चिनियाँ प्रयोगशालासँग मानिसहरूले सोचेभन्दा धेरै एच१०० हरू छन् । मेरो बुझाइमा डिपसिकसँग लगभग ५० हजार एच१०० चिप छन् जुन उनीहरूले बताउन सक्दैनन् । किनभने यो अमेरिकाले लगाएको निर्यात नियन्त्रणको विरुद्धमा छ ।”




.gif)





