काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले नेपालमा बोलिने भाषाको छुट्टै समूह बनाएको छ । अब विद्यार्थीले आफ्नो रोजाइको भाषा पढ्न पाउने भएका छन् ।‘कक्षा १०, ११ र १२ मा नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाएर पाठ्यक्रम परिमार्जन गरिएको छ । अरु विषय र भाषा एउटै समूहमा भएको हुँदा विद्यार्थीहरूले आफ्नो रोजाइको भाषा पढ्नबाट बन्चित हुनु परेको समस्यालाई सम्बोधन गर्न पाठ्यक्रम परिमार्जन गरिएको हो,’ शिक्षामन्त्री विद्या भट्टराईले भनिन् ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार यसअघि भाषा भएको समूहमा अरु विषय पनि थियो । जसका कारण विद्यार्थीले एउटा विषय रोजेपछि अर्को पढ्न नपाउने अवस्था थियो ।
‘ऐच्छिक पहिलो समूहमा गणित, अर्थशास्त्र, भूगोल, इतिहास, नागरिकशास्त्र, जनसंख्या अध्ययन, बजारशास्त्र, वातवरण, विज्ञानसँगै भाषाका विषय नेपाली, मैथिली, अरबी, भोजपुरीलगायतका भाषा पनि थियो । यो समूहबाट एउटा मात्र विषय लिन पाउने थियो । अब भाषाको छुट्टै समूह बनाएपछि विद्यार्थीले दुबै लिन पाउने भए,’ महानिर्देशक श्रेष्ठले भने ।
यसअघि ऐच्छिक पहिलो र ऐच्छिक दोस्रो भन्ने थियो । भाषाको अलग्गै समूह बनाएपछि अब तीनवटा समूहबाट विद्यार्थीले विषय छनोट गर्न पाउने भएका छन् । कक्षा ११ र १२ मा चारवटा समूह थियो । अब भाषाको छुट्टै भएपछि पाँचवटा समूह बनेको छ । ‘पाँचवटा समूहबाट विद्यार्थीले तीनवटा विषय छान्न पाउँछन्,’ महानिर्देशक श्रेष्ठले भने । पाठ्यक्रम विकास केन्द्रका अनुसार ३० वटा जति भाषाको पाठ्यक्रम बनेको छ ।
पाठ्यक्रम र मूल्याङकन विषय थपिने
पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा पाठ्यक्रम र मूल्याङकन विषयको पाठ्यक्रम बनाउने निर्णय गरेको छ । कक्षा १२ उत्तीर्ण भएपछि विद्यालयमा पढाउन पाउने भएकाले अध्ययनकै क्रममा पाठ्यक्रम र मूल्याङकनको ज्ञान दिन विषय थप गर्न लागिएको हो । ‘१२ पास भएपछि पढाउन जान पाउँछन् । ११ र १२ मा पढायो भने विद्यालयमा पढाउन जाँदा पाठ्यक्रम कार्यान्वयन गर्न सजलो हुन्छ भनेर हो,’ महानिर्देशक श्रेष्ठले भने ।




.gif)





