images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • पुस्तकरहित शुक्रबार नतिजामुखी बनाउन हिउँदे बिदाको...

पुस्तकरहित शुक्रबार नतिजामुखी बनाउन हिउँदे बिदाको उपयोग

पुस्तकरहित शुक्रबार नतिजामुखी बनाउन हिउँदे बिदाको उपयोग

images
images
बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको पुस्तकरहित शुक्रबारका क्रियाकलाप सञ्चालन गर्न पाठ्यक्रमको प्रारम्भिक मस्यौदामाथि क्षेत्रगत विज्ञबाट पृष्ठपोषण र सुझाव लिएको छ।

    images
    images

    पुस १८ गतेदेखि सुरु भएको हिउँदे विदाअन्तर्गत माघ ६, ७ र ८ गते दरबार हाइस्कूलमा विश्वविद्यालयका प्राध्यापक, विषय विज्ञ, सामुदायिक विद्यालयका प्रधानाध्यापक, फोकल शिक्षक र वुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन साझेदारहरूका बिचमा यसअघि गरिएका कार्यक्रमबाट प्राप्त उपलब्धि, सिकाइ, अनुभवका आधारमा विद्यार्थीहरूको ज्ञान, सिप र आचरण सुधारका लागि पृष्ठपोषण लिएको हो ।

    महानगरपालिकाले शैक्षिक सुधारका लागि लिएको नीति, नीति कार्यान्वयन गर्न बनाएका कार्यक्रम, यसका अभ्यासका विषयमा साझा बुझाइ निर्माण गरेर सानो र ठुलो समूहमा छलफल गराइएको थियो।

    images
    images

    एक वर्षभित्र २५ वटा शुक्रबार पुस्तकरहित क्रियाकलाप सञ्चालन गर्दा प्रशिक्षकसहित ७५ घण्टाका क्रियाकलाप, प्रशिक्षक विनाका क्रियाकलाप, २५ घण्टाको परियोजना कार्य, विद्यालय, प्रधानाध्यापक, फोकल शिक्षक, शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका र सहभागिता निर्धारण गरिएका छन्।  यसरी सञ्चालन गरिने क्रियाकलापका लागि आवश्यक पर्ने स्रोत, प्रशासनिक तथा प्राविधिक खर्च, स्रोत व्यक्तिहरुको पहिचान र संलग्नता सम्बन्धी विषयमा छलफल, प्रस्तुतीकरण र लेखन भएको छ । 

    शुक्रवारको कार्यक्रमका लागि २५ वटा विषय राखिएका छन् । यी हरेक विषयलाई एउटा उपसमूह मानिएको छ । यी उपसमूहमध्ये  बालबालिका तथा वातावरण (वावा) र विज्ञान, प्रविधि, इन्जिनियरिङ, आर्टस र गणित (स्टीम) विषय हरेक विद्यालयका लागि अनिवार्य उपसमूह हुन् । अन्य विषय विद्यार्थीको संख्यालगायत सूचकका आधारमा सञ्चालन गर्न सकिनेछ । 

    यी २ वटा उपसमूहसँगै स्काउट, नृत्य, पठन संस्कार (रिडिङ् कल्चर), योग, म्युरल (भित्ते चित्र), चरित्रवान नेतत्व विकास, मार्गदर्शनमार्फत नेतृत्व, नाट््य, कथा वाचन (स्टोरी टेलिङ्) छन् । संगीतमा मादल, बाँसुरी र सारङ्गी छन् । चलचित्रको दृष्टिकोणबाट सिकाइ (क्यामरा एण्ड टेक्नोलोजी) विपद् व्यवस्थापन, संस्कृति र सम्पदा, ट्राफिक व्यवस्थापन, चारित्रिक नेतृत्व (क्यारेक्टराइस्टिक लिडरसिप), उद्यमशील सोच, कोडिङ्, व्यक्तित्व विकास, एनिमेसन र गेमिफिकेशन, चलचित्र निर्माण (फिल्म मेकिङ्) र ड्रोन शुक्रबारका कार्यक्रममा सञ्चालन भइरहेका छन् । प्रारम्भिक बाल विकासका कक्षा (इसिडि) पछि कक्षा १ देखि ३ सम्म एकीकृत सिकाइका कक्षा सञ्चालन हुन्छन् । कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइका कक्षा सञ्चालन हुन्छन् । यस्तै कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम सञ्चालन भइरहेका छन् ।  

    मोवाइल एण्ड एलेक्ट्रोनिक्स, कुलिनरी आर्टस, व्युटिसियन एण्ड हेयर स्टायल, फेसन डिजाइन एण्ड क्लोथिङ्क कन्स्ट्रक्सन (फेसन डिजाइन र कपडा निर्माण), तार र विजुली जडान (हाउस वायरिङ् एण्ड इलेक्ट्रिकल), एग्रिकल्चर एण्ड अर्वन फार्मिङ्ग, प्लम्बिङ्, कला र मूर्तिकला (स्केचिङ् एण्ड स्कप्चर), कार्पेन्ट्री एण्ड उड कार्भिङ् (काठमा बुट्टा कुँदेर बेलबुट्टा भर्ने काम), विपद् पूर्व तयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) डकर्मी कला शिक्षामा सिप कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेका छन् । 

    यसरी सञ्चालन गरिने क्रियाकलापलाई नतिजामुखी बनाउन यस पटकको हिउँदे बिदामा विभिन्न कार्यक्रम सञ्चालन गरिए ।  विद्यार्थी विद्यालय नआएका बेला एसइईको नतिजा सुधारका लागि कक्षा १० का कक्षा नियमित सञ्चालन गरिए । दरबार हाइस्कूलमा नेपाल भाषाका सहायक प्रशिक्षकका लागि नियमित मूल्याङ्कन सम्बन्धी तालिम प्रदान गरियो । कक्षा ९ र १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकका लागि विषयगत तालिम सञ्चालन भयो । 

    पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजारमा प्रारम्भिक बाल विकास सहजकर्ताका लागि सैद्धान्तिक र प्रयोगात्मक तालिम तालिम प्रदान गरियो । यहाँका प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक अभ्यास गराउन विजय स्मारकका प्रारम्भिक बाल विकासका कक्षाहरू प्रयोग गरिएको थियो । पद्मोदय माध्यमिक विद्यालय, रामशाहपथमा कक्षा १ देखि कक्षा ३ सम्म अध्यापन गराइरहेका शिक्षकका लागि एकीकृत र सिर्जनात्मक सिकाइको तालिम प्रदान गरियो ।

    एसइई नतिजा सुधार कक्षा 

    सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरुको शैक्षिक उपलब्धि सुधार गर्न हिउँदे शिक्षण शिविर सम्पन्न भयो । परियोजनामा आधारित शिक्षण, समूहगत कार्यहरू, सहपाठीसँग सिकाइ र पुनरावलोकन कक्षा जस्ता सिकाइ विधिबाट विद्यार्थीहरूलाई विषयमा नयाँ दृष्टिकोणबाट सिक्ने वातावरण प्रदान गरिएको थियो । एसइईमा उत्कृष्ट नतिजा प्राप्त गर्न तयार गर्नु शिविरको उद्देश्य थियो ।

    सहकार्य, समस्या समाधान र समूहगत कार्यबाट विद्यार्थीहरूको सामाजिक र शैक्षिक सिप विकास तथा परीक्षाका लागि आत्म विश्वास बढाइएको छ । महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई एसइई परीक्षाको नतिजा सुधारका लागि शैक्षिक सत्रको सुरुवातदेखि नै अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ। नतिजा सुधार कार्यक्रमलाई छुट्टीको समयसँग जोड्दै गएको दशैँ र तिहारका बिचमा भएको बिदा अवधिमा ‘फेस्टिभल क्याम्प’ आयोजना गरेको थियो।

    प्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका ध्यमबाट विद्यार्थीहरूलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्नु यसको क्याम्पको उद्देश्य थियो। छुट्टीको समय उपयोग गर्ने क्रमलाई निरन्तरता दिँदै यस पटक तालिमसँगै पुस्तकरहित शुक्रबारलाई थप प्रभावकारी बनाउने कार्यक्रममा केन्द्रित गरियो। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend