काठमाडौंः नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासमा राष्ट्र बैंकको सुपरिवेक्षण विभागले नियामकीय निर्देशन पालना नगरेको पाइएपछि ३ वाणिज्य बैंक, बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई समेत कारवाही गरेको हो ।
राष्ट्र बैंकको सुपरिवेक्षण विभागका अनुसार प्रभु , एनआइसी एसिया र हिमालयन बैंक दोस्रो त्रैमासको सुपरिवेक्षणको क्रममा कारवाहीमा परेका हुन । हिमालयन बैंकलाइ एक तथा अन्य २ बैंकलाई एक भन्दा बढी कसुरमा कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रभु बैंक
नेपाल राष्ट्र बैंकले प्रभु बैंकको सञ्चालक समितिलाई सचेत गराएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा ९२० को खण्ड (ख) को व्यवस्था बमोजिम सञ्चालक चयन नगरेपछि बैंक सञ्चालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
वार्षिक साधारण सभा हुनु भन्दा अगाडि कुनै सञ्चालकको पद रिक्त हुन आएमा अर्को वार्षिक साधारण सभा नभए सम्मको लागि सञ्चालकको नियुक्ति सञ्चालक समितिद्वारा गर्न सकिने व्यवस्था रहेको छ । तर, प्रभु बैंकले सञ्चालक समितिको बैठकबाट सञ्चालक पदमा वार्षिक साधारण सभासम्मका लागि नियुक्त गरी सोहि वार्षिक साधारण सभाबाट अनुमोदन मात्र गराई नियुक्तिलाई निरन्तरता दिएकोकाले सञ्चालक समितिलाई सचेत गराइएको हो ।
बैंकको सर्वसाधारण सञ्चालकको पदावधि समाप्त भएतापनि मर्जर तथा प्राप्तिको व्यवस्थालाई आफु अनुकूल व्याख्या गरी सञ्चालकको पदावधि प्राप्ति भएको मितिबाट गणना गरिएको हुँदा निज संचालकलाई पदबाट हटाउन उक्त बैंकको संचालक समितिलाई निर्देशन दिएको छ ।
स्थलगत निरीक्षणका क्रममा राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालनामा कमजोरीहरु देखिएको तथा निरीक्षण प्रतिवेदनमा औल्याइएका कैफियतहरु समयमै सुधार गर्न बैंक अग्रसर रहेको राष्ट्र बैंकको भनाई छ ।
यस्तै राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन बमोजिम कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी बापतको व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता अनूपात गणना सम्बन्धमा क्यापिटल एडिक्युसी फ्रेमवर्क २०१५ को व्यवस्था अनुरुप प्राथमिक पुँजीबाट घटाउनु पर्ने रकम नघटाएको पाइएको छ ।
त्यस्तै केही कर्जाहरुमा जोखिमभार प्रदान गर्दा उक्त फ्रेमवर्कमा उल्लेख भएभन्दा कम भार प्रदान गरी वास्तविक भन्दा कम जोखिम भारित सम्पत्ति देखाएकोले आगामी दिनमा यस प्रकारका कैफियत दोहोरिन नदिनका लागि प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ ।
एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकले बैंकका सञ्चालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरुलाई प्रकाशित व्याजदर भन्दा बढी व्याज प्रदान गरेको पाइएको छ । बैंकका सञ्चालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा राष्ट्र बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको व्याज रकम फिर्ता गराएको छ ।
साथै आगामी दिनमा यस प्रकारका कार्य नगर्ने गरी एनआइसी एसिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, संचालक त्रिलोकचन्द्र अग्रवाल तथा संचालक रामचन्द्र संघाइलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन सहित) को दफा १०० को उपदफा २(क) बमोजिम नसिहत दिइएको जनाएको छ ।
राष्ट्र बैंकबाट एनआइसी एसिया बैंकको स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गिकरण तथा कर्जा नोक्सानी सम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभार सम्बन्धी निर्देशन, ब्याजदर सम्बन्धी निर्देशन एवम् संस्थागत सुशासन सम्बन्धी कतिपय निर्देशनको पालना नगरेको पाइएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशनको प्रतिकूल हुने गरी कुनै कार्य–निर्णय नगर्न तथा नगराउन र राष्ट्र बैंकको निर्देशन पूर्ण रुपमा परिपालना गर्न–गराउन एवं सुधारको कार्ययोजना बनाई लागु गर्न निर्देशन दिएको छ ।
ब्याजदर सम्बन्धी राष्ट्र बैंकको निर्देशन उल्लंघन नगर्न तथा बैंकले जारी गरेको क्यापिटल एडिक्युसी फ्रेमवर्क २०१५ अनुरुप हुने गरी जोखिमभार र पुँजीकोष कायम भएको यकीन गरी सोको प्रतिवेदन राष्ट्र बैंकलाई नियमित रुपमा उपलब्ध गराउन तथा सोको सुधारको कार्ययोजना बनाई लागु गर्न निर्देशन दिएको छ ।
यस्तै कर्जा वर्गिकरण तथा कर्जा नोक्सानी सम्बन्धी व्यवस्था राष्ट्र बैंकको निर्देशन अनुरुप हुने गरी गर्न तथा नेपाल राष्ट्र बैंकले जारी गरेका संस्थागत सुशासन सम्बन्धी निर्देशनहरुको पूर्ण रुपमा पालना गर्न(गराउन तथा सुधारको कार्ययोजना बनाई लागु गर्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।
हिमालयन बैंक
राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८० निर्देशन नं. २ को बुँदा नं. १ (ख) बमोजिम कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेकोले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।




.gif)





