images

२०८३ आश्विन २१ गते

images
images
images

लमजुङमा अलैंचीबाट २२ करोडको आम्दानी

लमजुङमा अलैंचीबाट २२ करोडको आम्दानी

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • लमजुङः अलैंचीबाट जिल्लामा यसपटक २२ करोडको आम्दानी भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन्।

    images
    images

    यस वर्ष जिल्लामा प्रतिकिलो एक हजार पाँच देखि दुई हजार चार सय सम्ममा अलैँची बिक्री भएको छ। गत आर्थिक वर्ष २०८०।८१ मा जिल्लाका किसानले २५१ मेट्रिक टन अलैँची बिक्री गरी २४ करोड आम्दानी गरेका थिए। मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार २०० का दरले अलैँची बिक्री गरेका थिए। गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटेको हो।

    त्यसैगरी, आर्थिक वर्ष २०७९।८० मा  ३८० मेट्रिक टन अलैँची बिक्रीबाट २० करोड आम्दानी भएको थियो। उक्त वर्ष प्रतिकिलो अलैँची कम्तीमा ५५० देखि सात सयसम्म बिक्री भएको थियो।

    images
    images

    आव २०७८।७९ मा ३३५ मेट्रिक टन अलैँची बिक्री गरी १५ करोड आम्दानी भएको थियो। आव २०७७।७८ मा तीन हजार पाँच सय क्विन्टल अलैँची बिक्री गरी १८ करोड २० लाख आम्दानी भएको थियो। आव २०७६।७७ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर किसानले १२ करोड आम्दानी गरेका थिए। त्यसैगरी, आव २०७५।७६ मा सात सय ५० क्विन्टल अलैँची बिक्री गरी किसानले पाँच करोड २५ लाख आम्दानी गरेका थिए।

    जिल्लामा सबैभन्दा धेरै मर्स्याङ्दी गाउँपालिकाका किसानले अलैँची उत्पादन गर्ने गरेका छन्। यहाँको वडानम्बर ५ सन्जापुका स्थानीयले मात्र यस वर्ष ६ हजार सात सय केजी अलैँची बिक्री गरी एक करोड ५० लाख आम्दानी गरेको सन्जापु अलैँची कृषक समूहका अध्यक्ष कामकाशि गुरुङले बताए। गाउँका करिब ६० घरधुरीले लगाएको अलैँचीखेतीबाट उक्त आम्दानी भएको हो।

    भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महसुस गरेको किसानहरुको भनाइ छ।

    जिल्लामा सात सय ५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि तीन सय ७५  हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ। उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होँलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ। सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ।

    जिल्लामा सात सय मिटर देखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, एक हजार दुई सय मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार छ सय देखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाइएका छन्। यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend