काठमाडौं । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै शैक्षिक अभिमुखीकरण कार्यक्रम गरेको छ ।
कलेजले आज एमविविएस, विडिएस, विएस्सी नर्सिङ, विएस्सी ल्याव मेड तथा विएस्सी एमआइटीमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारीले विद्यार्थीहरूले प्राप्त गर्ने सफलताले नै कलेजले शैक्षिक मानक बनाउने भएकोले मेहनत गरेर अध्ययन गर्न सुझाए ।
सफलता प्राप्त गर्न लगनशीलता र मेहनत जरुरी भएको बताउँदै प्रा.डा.अन्सारीले मेडिकल शिक्षामा किताबी ज्ञान बुझेर मात्र नहुने व्यवहारिक र प्रयागात्मक विधि बुझ्न जरुरी रहेको जिकिर गरे । विद्यार्थीको सिकाईका लागि कलेजले हरदम सहयोग गर्ने बताउँदै आफ्नो धरातल राम्रो बनाउने गरी मर्यादामा रहेर मेहनत गर्न अनुरोध गरे ।
कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा.साविहा यासमिनले कलेज ब्यवस्थापनका पक्षबाट विद्यार्थीलाई दिनुपर्ने सबै प्रकारका सुविधाहरू उपलब्ध गराइने बताए। कलेजमा मेडिकल शिक्षा अध्ययनका लागि राम्रो वातावरण रहेको, फ्याकल्टीहरु अनुभवी र विद्यार्थीमैत्री रहेकोले विद्यार्थीहरूले पनि मेहनत गर्नुपर्ने जिकिर गरे ।
एमविविएसमा भर्ना हुँदा शैक्षिक अभिमुखीकरण कार्यक्रममा बस्दाको क्षणको सम्झना गर्दै उनले सुरुका दिनहरुमा के होला ? कसरी जाने ? अन्यौलता भए पनि दोस्रो वर्षदेखि सहज बन्दै जाने बताए। मेडिकल शिक्षामा अनुशासन, मेहनत र लगनशीलता सफलताको प्रमुख आधार रहेको उनको भनाई छ ।
कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा।डा। मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा.निलमणी उपाध्याय, कलेजका बोर्ड अफ डाइरेक्टर शाहनवाज अन्सारी लगायतले विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजको शैक्षिक, प्रशासनिक तथा विषयगत जानकारीहरू प्रदान गरेका थिए ।




.gif)





