images

२०८३ आश्विन १९ गते

images
images
images

नयाँबजार सडक कालोपत्र –फिक्कल ( इलाम)

नयाँबजार सडक कालोपत्र –फिक्कल ( इलाम)

images
images
अर्थ समाचार
सोमवार, आषाढ १७ २०८१
अर्थ समाचार
सोमवार, आषाढ १७ २०८१
  • फिक्कल । इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ ।  सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक कालोपत्रे पूरा भएको हो । 

    images
    images

    कोशी प्रदेश सरकारको लगानीमा जीर्ण सो सडक कालोपत्रे गरिएको हो । रु ५३ करोड ८९ लाख ३८ हजार एक सय ४९ को लागतमा सडक कालोपत्रे सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालय भद्रपुर झापाका इञ्जिनियर वीरेन्द्र लामाले बताए ।

    सडकको अप्ठ्यारो भूभागमा आठ सय मिटर पक्की ढलाइ गरिएको छ । डिबिएसटी (डबल बिटुमिन एस ट्रिटमेन्ट) प्रविधिको कालोपत्र गरिएको हो । सडक कालोपत्रबाहेक किलोमिटर पोष्ट, सेफ्टी बारलगायतको कामसमेत गरिएको छ ।

    images
    images

    सो कार्यका लागि निर्माण कम्पनीसंग सम्झौता भएको थियो । विसं २०७९ कात्तिक १५ गते सम्पन्न हुनुपर्ने भए पनि सम्पन्न नभएपछि एक पटक म्याद थप भएको थियो । विसं २०७६ देखि नै काम सुरु भए पनि २०७७ कात्तिक २ गते ठूलो बाढी आएर पुलसमेत बगाएकाले काममा ढिलाइ भएकाले म्याद थप्नुपरेको निर्माण कम्पनीका प्रतिनिधि डिल्लीराम खनालले बताए ।

    सडक कालोपत्रे भएपछि सर्वसाधारणलाई दैनिक यात्रा गर्न सहज भएको छ । सडक कालोपत्र भएसँगै सूर्योदय नगरपालिकाको गोर्खे तथा माइजोगमाई गाउँपालिकाको जोगमाई, नयाँबजार, प्याङलगायत विभिन्न क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । 

    “पहिले बर्खामा याममा सडक हिलाम्मे हुने भएकाले दैनिक उपभोग्य सामग्री ल्याउन फिक्कल बजारसम्म पुग्न धेरै कष्ट भोग्नुपर्दथ्यो”, माइजोगमाई गाउँपालिका–१ का किसान बिनु खड्काले भनिन्, “सडक कालोपत्रे भएसँगै यो वर्षदेखि त्यो कष्ट अन्त्य भएको छ, पहिले चार घण्टा समय खर्चेर फिक्कल पुग्नुपर्दथ्यो, अहिले आधा घण्टामा पुग्न सकिन्छ ।”

    सडक कालोपत्रे भएसँगै बिरामीलाई उपचारका लागि अस्पताल लैजानसमेत सहज भएका माइजोगमाई –१ नयाँ बजारकी देवी अधिकारी बताउँछिन् । “विगतमा कच्ची सडकमा रहेका खाल्डाखुल्डीका कारण बिरामीलाई अस्पतालसम्म पुर्याउनसमेत हम्मेहम्मे पर्दथ्यो”, उनले भनिन्, “सडक कालोपत्र भएपछि सहजरुपमा सवारी साधन गुडाउन तथा बिरामीलाई अस्पताल पुर्याउन सकिने भएको छ ।”

    सडक कालोपत्रसँगै कृषकलाई धेरै फाइदा पुगेको उनीहरु बताउँछन् । “सडक कालोपत्र भएपछि कृषि उत्पादन बजारसम्म पुर्याउन निकै सहज भएको छ, व्यवसायी गाडी लिएर गाउँगाउँसम्म आउन थालेका छन्”, स्थानीय मनिकुमार राईले भने, “यहाँ उत्पादित कृषिउपज बारीबाटै बिक्री हुन थालेको छ, आउँदो दिनमा कृषि उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरेका छौँ ।”

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend