images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • सिमेन्ट उद्योगहरूले मूल्य बढाएको विरोधमा व्यवसायी...

सिमेन्ट उद्योगहरूले मूल्य बढाएको विरोधमा व्यवसायी आन्दोलित

सिमेन्ट उद्योगहरूले मूल्य बढाएको विरोधमा व्यवसायी आन्दोलित

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • विराटनगर । सुनसरी र मोरङका हार्डवेयर व्यवसायीहरू सिमेन्ट उद्योगहरूले मूल्य बढाएको विरोधमा आन्दोलित बनेका छन् । सुनसरीका हार्डवेयर व्यवसायीहरूले उद्योगले मागअनुसार सिमेन्ट बिक्री नगरी बजारमा सिन्डिकेट लाद्ने काम गरेको भन्दै सुनसरीका व्यवसायीहरूले आफ्नो पसल बन्द गरेका हुन् । उनीहरूले भोलीदेखि हार्डवेयर पसल खुलाए पनि सिमेन्ट भने विक्री नगर्ने निर्णय नै गरेका छन् । 

    images
    images

    ‘सुनसरी जिल्ला भरका हार्डवेयरका सामान नबेच्ने र भोलीदेखि सिमेन्ट नबेच्ने अरू चाहिँ खोल्ने निर्णय भएको छ,’ सुनसरी हार्डवेयर व्यवसायी सङ्घर्ष समितिका संयोजक माधव पाठकले भने । उक्त सङ्घर्ष समितिमा सुनसरीका २ सय बढी व्यवसायीहरू आबद्ध रहेको उनले बताए । 

    यस्तै हार्डवेयर संघ विराटनगरले बिहीबार एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म उद्योगमा सिमेन्ट अर्डर नगर्न निर्देशन गरेको छ । संघका सचिव जीतेश कोइरालाको नामबाट जारी गरिएको सूचनामा सिमेन्टको मूल्यवृद्धिविरुद्ध चौतर्फि विरोध तथा आन्दोलित भएका कारणले विराटनगर हार्डवेयर संघमा आबद्ध तथा विराटनगर भित्रका सम्पूर्ण सिमेन्ट बिक्रेताहरूले अर्को सूचना जारी नभएसम्म उद्योगबाट कुनै पनि सिमेन्टको माग नगर्न निर्देशन गरिएको छ । 

    images
    images

    उद्योगहरूले बजारमा कम सिमेन्ट आपूर्ति गरेर जबरजस्ती अभाव सिर्जना गरी कालोबजारी गरेको भन्दै बिक्रेताहरूले उद्योगबाट सिमेन्ट खरिद नगर्ने निर्णय गरेका हुन् । उद्योगीहरूले पछिल्लो समयमा ५० प्रतिशतसम्म उत्पादन कटौती गरी बिक्रेताहरूलाई मागअनुसार सिमेन्ट उपलब्ध नगराउने गरेको हार्डवेयर व्यवसायीहरूले बताएका छन् । उत्पादन कम गरेर बजारमा कृत्रिम अभाव सिर्जना गरेपछि दुई महिनाको अवधिमा प्रतिबोरा २७५ रुपैयाँ मूल्यवृद्धि गरिसकेको र यसले आम उपभोक्ताहरू मर्कामा परेको विराटनगर हार्डवेयर संघका अध्यक्ष प्रमोद जिन्दलले बताए ।

    उनले भने, ‘डिजेल, कोइला र अरू कच्चा पदार्थको भाउ बढेको छैन, ती वस्तुको अभाव पनि छैन, विद्युतको पनि त्यतिधेरै समस्या छैन अनि स्वदेशी खानीबाट उत्पादित क्लिङकरबाट बनाउने सिमेन्टमा के कुराले यतिधेरै मूल्यान्तर हुन्छ ? यसको विरोधमा आम जनताले बोल्नुपर्छ, हामीले उद्योगसँग सिमेन्ट किन्दैनौँ भनेर बोल्न थालेका छौँ ।’

    हार्डवेयर संघ विराटनगरका उपाध्यक्ष भानु पौडेलले सरदर ५ सय रुपैयाँमा पाइने सिमेन्ट अहिले ८५० रुपैयाँमा बिक्री भइरहेको  बताए । ‘बिस पचास रुपैयाँको कुरा होइन, यति छोटो अवधिमा यतिधेरै मूल्य बढ्ने त्यस्तो के कारण आइपरेको छ र यस्तो गरियो ? त्यसैले सिन्डिकेटका कारण आम उपभोक्तामाथि शोषण भइरहेकोले हामीले सिमेन्ट डिमान्ड नगर्ने निर्णय लिनुपरेको हो,’ पौडेलले भने । धरान, इटहरी र इनरुवाका संघहरुले बजार पसल नै बन्द गरेर आन्दोलन गर्न दबाब दिइरहेको भए पनि भएको मौज्दात बिक्री गर्ने तर उद्योगबाट खरिद नगर्ने गरी आन्दोलन गर्न सहमति भएको उनले बताए । उनले भने ‘अहिले  नै कडा आन्दोलनमा गएका छैनौँ तर अब यो समस्या समाधान गरिएन भने हामी कडा आन्दोलन गर्न तयार भएरै विरोध सुरु गरेका हौँ ।’

    उद्योगको सिन्डिकेटका कारण बजारमा मूल्य बढेको भएपनि उपभोक्ताले हार्डवेयरले कालोबजारी गरेको आरोप लगाउने गरेको भन्दै पौडेलले भने ‘अब बिक्रेता र उपभोक्ता मिलेरै विरोधमा उत्रिनु पर्ने अवस्था आइसकेको छ ।’ विराटनगर हार्डवेयर संघमा २५० हार्डवेयर व्यवसायीहरू संगठित छन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend