सगरमाथा क्षेत्रको उडानमा असुरक्षा बढेको भन्दै वायु सेवा सञ्चालक संघ नेपालले हवाई उडान स्थगित गर्ने निर्णय गरेको छ। आइतबार एक विज्ञप्ती जारी गर्दै संघले आजदेखि नै हवाई उडान स्थगित गर्ने जानकारी दिएको हो ।
यसअघि, सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका लगायतका स्थानीय युवा समूह तथा संघ संस्थाहरूले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन,वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै व्यवसायिक रूपमा जनवरी १ देखि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएका थिए ।
जसपश्चात् सो विषयमा पदाधिकारीहरू सँग संघका पदाधिकारीहरूले पटकपटक वार्ता गर्दा पनि कुनै निश्कर्षमा पुग्न सकेको थिएन । हाल खुम्बु क्षेत्रका हेलिप्याडहरूमा झण्डा गाडी अवरोध सृजना गरिएको कथमकथाचित आपतकालिन अवतरण गर्नुपर्ने अवस्था गरेको खण्डमा समेत अवतरण गर्ने स्थान नरहेको, सदस्य वायुसेवा कम्पनीहरूका जहाजहरू अवतरण गरेको खण्डमा स्थानीय समूहले चालक दलका सदस्यलाई समाति कारवाही गर्ने भन्ने जस्ता अभिव्यक्तिहरू स्थानिय क्लब, युवा समहु लगायत सरोकारवाला निकायहरूले विभिन्न संचार माध्यमहरूमा व्यक्त गर्ने जस्ता कार्य गरेको हुनाले हेलिकप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभए सम्म सो क्षेत्रका समपूर्ण उडानहरू पुष २१ गते देखि स्थगन गरिएको जानकारी गराइन्छ, उक्त विज्ञप्तिमा लेखिएको छ ।




.gif)





