images

२०८३ आश्विन २० गते

images
images
images

पर्यटकको रोजाइ र वीरेन्द्रनगरको आम्दानी स्रोत बनेको बुलबुले ताल

पर्यटकको रोजाइ र वीरेन्द्रनगरको आम्दानी स्रोत बनेको बुलबुले ताल

images
images
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • काठमाडौं । चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र बुलबुल गरेर जमिनमुनिबाट निस्किएको पानीले बनेको तालको नाम हो– बुलबुले।यो ताल पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ भने वीरेन्द्रनगर नगरपालिकाको आन्तरिक आम्दानीको स्रोत पनि बनेको छ।पहिलोपटक कर्णालीको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा आउने जोकोही पनि बुलबुले ताल हेर्न जाने गर्छन्।

    images
    images

    एकपटक गएपछि फेरि पनि घुम्न मन लाग्ने बुलबुले उद्यान क्षेत्र पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइ बनेको छ । समुद्री सतहबाट करिब ६५७ मिटरको उचाइमा अवस्थित बुलबुले तालमा मोटरेबल समेत सञ्चालनमा आएपछि झनै पर्यटकको रोजाइ बनेको हो।सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइएको छ भने चारैतिर घुम्न र हेर्नलायक बन्दै छ। तालमा अहिले मोटरबोट शयर गर्नसमेत सकिन्छ ।

    बाह्र हजार वर्गमिटर क्षेत्रफलमा रहेको उक्त तालको क्षेत्र बढाएर २८ हजार ५०० वर्गमिटर बनाइएको छ। अहिले यही तालमा दुईवटा मोटरबोट सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटक बढ्न थालेका हुन्।साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ। कर्णाली आउने हरेक पर्यटकको रोजाइमा बुलबुले पनि पर्छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्छन् । दैनिक पाँच सयभन्दा बढी पर्यटकले बुलबुलेको अवलोकन गर्ने बताइएको छ ।  विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो ।

    images
    images

    नजिकै रहेको काँक्रेबिहारले पनि रमाइलो थपिदिन्छ । यहाँ वनभोजस्थलदेखि घुमघाम गर्न जानेहरूको घुइँचो बढ्न थालेको छ । विशेषगरी बिदाको दिन बुलबुले घुम्न जाने पर्यटकको सङ्ख्या बढ्ने गरेको छ । अहिले बिदाको दिन पाँच हजारभन्दा बढी व्यक्ति बुलबुले घुम्न आउने गरेको वीरेन्द्रनगर नगर विकास समितिअन्तर्गत टिकट काउन्टरमा कार्यरत माली निर्मला बास्तोला बताउँछिन्।

    'अहिले दैनिक औसतमा पाँच सयभन्दा धेरै व्यक्ति बुलबुले अवलोकन गर्न आउनुहुन्छ, दैनिक टिकट बिक्रीबाट १५ हजार आम्दानी हुने गरेको छ। बिदाका दिनमा ३५ हजारसम्मको आम्दानी हुने गरेको निर्मला बताउछिन्।

    अझै व्यवस्थित गर्न सुझाव

    बुलबुले घुम्न आएका आन्तरिक पर्यटकले भने नगरपालिकाले अझै उद्यान क्षेत्र व्यवस्थित गर्न आवश्यक रहेको औँल्याएका छन् । वनभोजका लागि आएका शिव मावि धुलियाबिटका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलले उद्यानसँगै सार्वजनिक शौचालयलगायतका संरचना बनाएर व्यवस्थित गर्नुपर्ने सुझाव दिए।'अहिलेको समय भनेको हरेक नागरिकका लागि रमाइलो चाहिएको छ, त्यसका लागि उपयुक्त ठाउँ बुलबुले बनिरहेको छ, तर यसको व्यवस्थापन अझै गर्न आवश्यक देखिन्छ,' उनले भने।

    प्रधानाध्यापक पौडेलले सार्वजनिक शौचालयदेखि रातिको समयमा घुम्न मिल्ने वातावरण बनाउनुपर्ने सुझाव दिए। बत्ती, पानीसहित चार्चिङ स्टेशनलगायत संरचना बनाएर अझै प्रचारप्रसार गर्न सके वीरेन्द्रनगरको आन्तरिक आम्दानीको ठूलो स्रोत बुलबुले बन्न सक्ने उनको भनाइ छ ।बुलबुले घुम्न आएका टङ्कप्रसाद पोख्रेलले पनि बुलबुले आफैँमा महत्त्वपूर्ण र घुम्नलायक ठाउँ रहेको भन्दै आन्तरिक पर्यटकसँगै बाह्य पर्यटक भित्र्याउनेगरी सरकारले काम गर्नुपर्ने सुझाव दिए।

    'अझै आकर्षक र हेर्नलायक बनाउन सक्नुपर्छ, यही प्रदेश सरकार पनि भएको हुँदा स्थानीय र प्रदेश सरकारले विशेष योजना ल्याउनुपर्छ,' उनी भन्छन्।बाहिरबाट सुर्खेत आएपछि बुलबुले घुम्न जाने गरेको उल्लेख गर्दै शिक्षक कमला खतिवडाले पनि अझै सबैको रोजाइ हुनेगरी बुलबुले उद्यान निर्माण गरिनुपर्नेमा जोड दिए। व्यवसायी ओमप्रकाश तिवारीले बुलबुले, काँक्रेबिहारलगायत पर्यटकीय क्षेत्रलाई पर्यटकको रोजाइ बन्नेगरी योजना बनाउनुपर्ने भन्दै यसले अर्थतन्त्रलाई टेवा पुग्न सक्ने सुझाव दिए।

    पर्यटकको आकर्षक बनाउन सके कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्यवसाय पनि बढ्थ्यो, रोजगारी सृजना हुन्थ्यो भने अर्कातर्फ विदेशिनुपर्ने बाध्यता कम हुने थियो।अर्का व्यवसायी रमेश खड्काको मत पनि त्यस्तै छ । बुलबुलेको पहिचानलाई जोगाउँदै देश तथा विदेशका पर्यटक भित्र्याउनेगरी योजना बनाउनुपर्ने उनले बताए।प्रदेश राजधानीमा रहेको बुलबुले, काँक्रेबिहार र देउती बज्यैजस्ता पर्यटकीय क्षेत्रलाई व्यवस्थित तथा प्रचारप्रसार गरी आन्तरिक आम्दानी बढाउन सकिने सरोकारवालाको सुझाव छ।

    कर्णाली प्रदेश सरकारले पर्यटकीय क्षेत्रको पहिचानसँगै कर्णाली घुम्न आउने वातावरण बनाउनेगरी योजना बनाइएको भन्दै सबै पक्षलाई  कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गरेको छ।

    रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend