images

२०८३ आश्विन २० गते

images
images
images

सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित

सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित

images
images
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • काठमाडौँ ।  सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म  यातायात सेवासञ्चालनमा आएको छ । यसले सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ । 

    images
    images

    खुम्बु पासाङल्हामु –१ खरिखोलाबाट वडा नं २ सुर्केसम्म रु १६ करोडको लागतमा करिब २५ किलोमिटर सडक निर्माण गरिएको हो । यो परियोजना गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि सुरु भएको थियो । परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना—सिल्क पावर र दूधकोशी छैटौसँग साझेदारी गरेको छ ।

    थामडाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक ठेक्का प्रणालीमार्फत रु १० करोड ५२ लाखमा निर्माण सम्पन्न भएको छ । गाउँपालिकाका लेखा शाखा प्रमुख चेतनाथ कट्टेलका अनुसार ५० प्रतिशत लगानी गाउँपालिकाको छभने बाँकी ५० प्रतिशत जलविद्युत् आयोजनाबाट जुटाइएको छ । खरिखोलाबाट थामडाँडासम्मको १२.३ किलोमिटर सडक भने रु छ करोड १४ लाख लागतमा पालिकाको आफ्नै स्रोतबाट निर्माण गरिएको थियो । 

    images
    images

    दूधकोशी नदीमा रहेको मितेरीपुल बाढीका कारण क्षतिग्रस्त भएपछि अस्थायी रूपमा ह्युमपाइप राखेर सडक सञ्जाललाई निरन्तरता दिइएको छ । दूधकोशीपारिको खरिखोला र पैयाँखोला गरी दुई ठाउँमा ह्युमपाइप प्रयोग गरिएको वडा नं २ का अध्यक्ष आङफुर्वा शेर्पाले बताउनुभयो । यसले मालवाहक र अन्य सवारीलाई सहजै सुर्केसम्म पुर्याउन सम्भव बनाएको छ । स्थानीय पर्यटन व्यवसायीले सडक निर्माणप्रति उत्साह व्यक्त गर्दै यो कदमले क्षेत्रीय पर्यटनलाई नयाँ उचाइमा पुर्याउने बताएका छन् । मौसमका कारण उडान रद्द हुँदा यात्री अलपत्र पर्ने समस्या अब समाप्त हुने व्यवसायीको धारणा छ ।

    स्थानीयवासीले सडक विस्तारले जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । यसले उनीहरूको दैनिकी सहज बनाउनुका साथै क्षेत्रीय विकासमा गति दिनेछ । लुक्ला नजिकैको सुर्केसम्म सडक सञ्जाल विस्तार भएको खुम्बु क्षेत्रका लागि कोशेढुङ्गा सावित हुँदैछ । सगरमाथा क्षेत्रको पर्यटकीय महत्वलाई बढाउँदै यो परियोजनाले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन योगदान दिने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायी, स्थानीयवासी र सरोकारवाला सबैले यो विकासलाई स्वागत गरेका छन् ।

    सुर्केसम्म सडक पुगेपछि सल्लेरीबाट ६४ किलोमिटरको दूरीलाई सहज यात्राका माध्यमबाट पार गर्न सकिने भएको छ । लुक्ला विमानस्थलबाट करिब डेढ घण्टाको पैदल दूरीमा पर्ने फाक्दिङसम्म सडकको पहुँचले भरपर्दो विकल्प सृजना गरेको पर्यटन व्यवसायी अमृत मगरले बताउनुभयो । 
    यसअघि मौसम प्रतिकूल हुँदा विदेशी पर्यटक हप्तौँसम्म रामेछापको मन्थलीमा कुर्न बाध्य हुने अवस्था थियो । अब सडक मार्गको विकल्पले मौसमको प्रतिकूलताबाट प्रभावित हुने समस्यालाई धेरै हदसम्म समाधान गर्ने देखिन्छ । पर्यटन व्यवसायी निराजन शर्माका अनुसार आधा पर्यटक अब सिधै सडक मार्गबाट खुम्बु पुग्ने सम्भावना छ ।

    पर्यटनमा सम्भावना र आर्थिक प्रभाव

    सडक विस्तारसँगै खुम्बु क्षेत्रमा पर्यटन व्यवसायमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ । यसले होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, गाइड र पोर्टरको रोजगारीमा पाि सकारात्मक प्रभाव पार्नेछ ।

    खुम्बु पासाङल्हामु गाउँपालिकाका अनुसार यो सडकले स्थानीय उत्पादनको ढुवानीलाई पनि सहज बनाउनेछ । यस क्षेत्रका आलु, गहुँ, जौँजस्ता उत्पादन अब बजारमा सहजै पुग्ने छन् । साथै निर्माण सामग्री र खाद्यान्न आपूर्तिमा पनि सुधार आउनेछ । सडक निर्माणको यो महत्त्वपूर्ण परियोजना यही पुस २० उद्घाटन गर्ने कार्यक्रम  रहेको छ । यसले खुम्बु क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा थप प्रचार गर्ने विश्वास गरिएको छ ।रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend