images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • नौ महिना देखि पाउन सकेन नेपाल...

नौ महिना देखि पाउन सकेन नेपाल बीमा प्राधिकरणले कार्यकारी निर्देशक

नौ महिना देखि पाउन सकेन नेपाल बीमा प्राधिकरणले कार्यकारी निर्देशक

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौँ । नेपाल बीमा प्राधिकरण विगत नौ महिना देखि कार्यकारी निर्देशक विहीन छ । गत जेठ १२ गते प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलको अवकाश लिएयता प्राधिकरण कार्यकारी निर्देशक विहीन बनेको हो । प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल दोहोरो नागरिकता प्रकरणमा गत मंसिरमा निलम्बनमा परे । उनको अकर्मण्यता र कर्मचारीको राजनैतिक खिचातानीको कारण प्राधिकरणले कार्यकारी निर्देशक पाउन सकेको छैन ।

    images
    images

    प्राधिकरणको कर्मचारी विनियमावली अनुसार कार्यकारी निर्देशकको पदावधि ५ वर्षको हुन्छ । कार्यकारी निर्देशकका लागि प्राधिकरणको निर्देशक भएर कम्तिमा  ५ सेवा गरेको हुनुपर्ने व्यवस्था छ । पूर्वकार्यकारी निर्देशक राजु रमण पौडेल अवकाश हुँदा प्राधिकरणमा चार जना निर्देशक  थिए कमल प्रसाद रेग्मी, दिनेश लाल कर्ण, पूजन ढुङ्गेल र सुशील देव सुवेदी । त्यतिबेला रेग्मी निर्देशक भएको नौ वर्ष पूरा भैसकेको थियो । त्यस्तै, कर्णले पनि पाँच वर्ष निर्देशकका रूपमा काम गरिसकेका थिए । ढुङ्गेल र सुवेदीको कार्य अवधि पाँच वर्ष नपुगे पनि महिला कोटाका कारण ढुङ्गेल पनि कार्यकारी निर्देशको लागि योग्य भैसकेकी थिइन्  । 

    विनियमावली अनुसार वरीयता क्रमको आधारमा रेग्मी कार्यकारी निर्देशकको लागि पहिलो उम्मेदवार हुन् ।  त्यस्तै, कर्णको पनि योग्यता पुगि सकेको थियो भने ढुङ्गेल महिला कोटाबाट कार्यकारी निर्देशकको लागि योग्य थिइन् । कार्यकारी निर्देशकका लागि योग्य कर्मचारी हुँदाहुँदै निलम्बित अध्यक्ष सिलवालले नियुक्त गर्न चासो देखाएनन् ।

    images
    images

    प्राधिकरणले लोकसेवा आयोगले एकै वर्षमा दुई पटक दरबन्दी खुलाउन नमिल्ने भनिए पछि गत आर्थिक वर्षभित्र कार्यकारी निर्देशक नियुक्त गर्न नसकेको बताउँदै आएको छ । हालको व्यवस्था अनुसार प्राधिकरणमा एक जना कार्यकारी निर्देशक र चार निर्देशक रहने व्यवस्था छ । एक जना मात्रै कार्यकारी हुने भएकाले प्राधिकरणको कामकारवाहीमा असर पर्ने हुँदा प्राधिरकणले चाहेको भए गत आवमा नै लोकसेवा आयोगले कार्यकारी निर्देशक दरबन्दीको लागि सहमति दिने प्राधिकरणकै कर्मचारीको भनाइ छ । 

    गत आवमा लोकसेवाले रोक लगाए पनि चालु आर्थिक वर्षका ६ महिना बित्न लाग्दा समेत कार्यकारी निर्देशक नियुक्त भएका छैनन् । गत आवमा चार निर्देशक मध्ये तीन जना निर्देशक कार्यकारी निर्देशकको लागि योग्य थिए  । तर, चार निर्देशक मध्ये कर्णको गत असारमा पदावधि सकिएको छ । योग्यता पुग्न बाँकी रहेका निर्देशक सुवेदीको पनि अहिले योग्यता पुगिसकेको छ । साउनयता उनी निर्देशक भएको पाँच वर्ष पूरा भैसकेको छ । अहिले प्राधिकरणमा भएका तीन निर्देशक मध्ये तीनै जनाको योग्यता पुगेको छ । तर अध्यक्ष सिलवालले कार्यकारी निर्देशक नियुक्त गर्न नचाहेको कर्मचारीहरूको आरोप छ ।

    अध्यक्ष सिलवालले आफू निकटका व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गर्नका प्रक्रिया लम्बाइएको प्राधिकरणका कर्मचारीहरुको गुनासो छ । केही कर्मचारीहरू निर्देशक  सुवेदी अध्यक्ष सिलवालको निकट भएको बताउँछन् । रेग्मी र ढुङ्गेललाई बाइपास गरी सुवेदीलाई नियुक्ति गर्नका लागि अध्यक्ष सिलवालले प्रक्रिया लम्बाइएको प्राधिकरणका कर्मचारीको आरोप छ । यही धारणा अर्थ मन्त्रालयका कर्मचारीको पनि छ । तर, सुवेदीको योग्यता पुगेपछि पनि अध्यक्ष सिलवालले प्रक्रिया अगाडि बढाएनन् । 

    जसकारण प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिको विषय झनै पेचिल बनेको छ । आखिर अध्यक्ष सिलवालले कसलाई कार्यकारी निर्देशक बनाउन चाहन्थे भन्ने विषयमा चासै चासोको बिषय बनेको छ । 

    अर्थको सहमति पछि पनि उपकार्यकारीको दरबन्दी खुलाइएन 
    प्राधिकरणको कार्यकारी निर्देशकको मात्रै हैन उपकार्यकारी निर्देशकको नियुक्तिका प्रक्रिया पनि अलमलमा परेको छ । अर्थ मन्त्रालयले सहमति दिएको लामो समय भैसक्दा पनि प्राधिकरणले  उपकार्यकारी निर्देशको प्रक्रिया सुरु गरेको छैन । जसकारण प्राधिकरणका पुराना कर्मचारी निराश बनेका छन् । लामो समयदेखि बढुवा नभएका कर्मचारीमा नयाँ दरबन्दीले उत्साही भएका थिए । तर, विभिन्न बहाना दरबन्दीको प्रक्रिया रोकिएपछि कर्मचारी निराश बनेका हुन् । 

    प्राधिकरणले गत वर्ष नेपाल प्रशासनिक कर्मचारी कलेजले प्राधिकरणका संगठन र व्यवस्थापन सर्वेक्षण गरेको थियो । सर्वेक्षणले प्राधिकरणमा उप कार्यकारी, निर्देशक र सहायक निर्देशक दरबन्दी गर्नुपर्ने देखाएको थियो । त्यस्तै, विभिन्न शाखाको मजबुत बनाउनु पर्ने देखाएको थियो । 

    सर्वेक्षण पछि प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेर कर्मचारी दरबन्दीको लागि अर्थ मन्त्रालयमा सहमतिको लागि पठाइयो । तर, अर्थ मन्त्रालयले उप कार्यकारी निर्देशक र निर्देशक आवश्यकता नभएकोले अन्य दरबन्दीको लागि मात्रै सहमति दियो । यसै विषयमा कुरा नमिलेपछि अर्थले फेरि सर्भे गर्न भन्यो। 

    प्राधिकरणले फेरि सर्भे गर्‍यो । सर्भेले दुई उप कार्यकारी, ३ जना निर्देशक सहित दरबन्दी गर्नुपर्ने देखायो । प्राधिकरणले सर्भे अनुसार कर्मचारी दरबन्दीको लागि बोर्डबाट सहमति गरी अर्थ मन्त्रालयमा पढायो । अर्थले सहमति भने दिएन । तर, प्राधिकरणका अध्यक्ष सिलवालले भने मन्त्रीलाई राजी गराइ सहमति लिए । अर्थको सहमति पछि दरबन्दीको लागि लोकसेवाको सहमतिको लागि पठाइएको प्राधिकरणका कर्मचारीहरु बताउँछन् । तर, लोकसेवा आयोगबाट सहमति प्राप्त नभएपछि दरबन्दीको प्रक्रिया रोकिएको कर्मचारीहरु बताउँछन् ।

    दरबन्दीको प्रक्रियाको बिषयमा अर्थमन्त्रालय आश्चर्यमा छ । अर्थले सहमति दिएपछि दरबन्दीको सबै अधिकार प्राधिकरणलाई छ । तर, प्राधिकरणले किन ढिलाइ गरेको भन्ने विषयमा बुझन नसकिएको मन्त्रालयका कर्मचारी बताउँछन् । 

    दरबन्दीको प्रक्रियाको विषयमा प्राधिरकणका प्रवक्ता बोल्न चाहेनन् । तर, लोकसेवा आयोगकी प्रवक्ता गीता कुमारी होमेगाईले प्राधिकरणले नयाँ पद सहित दरबन्दीको माग गरेको बताइन् । नयाँ पदको विषयमा विनियमावलीमा व्यवस्था नभएपछि प्राधिकरणले शंसोधनको प्रक्रिया रहेको उनको भनाइ छ ।

    अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन
    सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्नका सिफारिस समिति गठन गर्ने भएको छ । गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

    समितिमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहनेछन् । गत मसिंर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका अध्यक्ष सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले सिलवाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका थिए । साथै प्राधिकरणको अध्यक्ष पद रिक्त रहेको थियो । कार्य वाहक अध्यक्षको रुपमा अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले प्राधिकरण सम्हाल्दै आएका छन् । सरकारले माघ १४ गते नयाँ अध्यक्ष नियुक्त गरी सक्नु पर्नेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend