काठमाडौँ । नेपालमा कुनै बेला ‘ब्लू चीप’ कम्पनीहरुमा गनिने बाणिज्य बैंक अहिले सेयरको दोस्रो बजारमा सबै भन्दा ‘हेपिएका’ संस्थाजस्तै बनेका छन् । अधिकांश बाणिज्य बैंकहरुको सेयर मूल्य बढ्न सकेको छैन ।
पछिल्ला वर्षमा आएका कतिपय ‘झुर’ कम्पनीहरुको आइपीओ समेत दोस्रो बजारमा कारोबार हुन थाल्दा बित्तिकै ३०० रुपैयाँ भन्दा माथि मूल्य पुगिसक्ने गरेको देखिन्छ । सानो पूँजीका कम्पनीहरुको सेयर मूल्य त अझै त्यो भन्दा पनि बढ्ने गरेको छ ।
तर सबैभन्दा बलियो नियमान भएको र मजबूत कानूनी संरक्षण समेत पाएका बाणिज्य बैंकहरुको सेयर मूल्य भने पटक्कै बढ्न सकेको छैन ।
अहिले पनि १९ मध्ये १४ बाणिज्य बैंकको सेयर मूल्य ‘ट्रिपल थ्री’ अर्थात् ३३३ रुपैयाँभन्दा सस्तो छ । नेपालमा कुल २० बाणिज्य बैंक भए पनि राष्ट्रिय बाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन । लगभग पूर्ण सरकारी स्वामित्वको यो बैंकलाई छाड्ने हो भने बाँकी १९ बाणिज्य बैंकका सेयर दोस्रो बजारमा कारोबार भइरहेका छन् ।
तीमध्ये ३३३ देखि ६६६ रुपैयाँको करिडोरमा केवल ५ बैंक मात्रै परेका छन् । ‘ट्रिपल थ्री’ र ‘ट्रिपल सिक्स’बीच पर्ने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्डको सेयर मूल्य सबै बाणिज्य बैंक मध्ये महँगो छ । त्यसपछि एभरेस्ट, नबिल र नेपाल एसबीआई गरी केवल ४ वटा बैंकका सेयरको भाउ ४०० रुपैयाँ भन्दा माथि छन् । विगत लामो समय सम्म १००० रुपैयाँ हाराहारी पुग्ने गरेको एनआईसी एसियाको सेयर मूल्य अहिले ४०० रुपैयाँ भन्दा तल झरेको छ ।
अधिक पूँजीकरण, न्यून लगानी क्षेत्र र कमजोर प्रतिफलका कारण बैंकहरुको सेयरमा लगानी गर्न मानिस तत्पर देखिँदैनन् । दोस्रो बजारमा यी आधारभूत पक्षभन्दा पनि बाणिज्य बैंकहरुको ज्यादै ठूलो सेयर संख्या मुख्य रुपमा बाधक बनिरहेको छ ।
अरबौँ रुपैयाँ पूँजी र कसैले लगानी गरेर मूल्यमा हेरफेर गर्नै नसक्ने गरी ज्यादा सेयर संख्या भएका कारण सट्टेबाजीमा रमाउने लगानीकर्ताले यी बैंकहरुको सेयरमा लगानी गरेर पूँजीगत लाभ आर्जन गर्नसक्ने सम्भावना नै देखेनन् । परिणाम स्वरुप अहिले धेरै बैंकको सेयर मूल्य २५० वा ३०० रुपैयाँ भन्दा सस्तो भएको छ ।




.gif)





