काठमाडौँ, ११ पुसः आर्थिक लगायत विविध कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका छन् । यो व्यवसाय धराशयी हुँदा कैयनले रोजगारी गुमाएका छन् । धवलागिरि अटोमोबाइल्स व्यवसायी सघं, बागलुङका अनुसार पछिल्लो पाँच वर्षमा सघमा आबद्ध १९ जना व्यवसायी विस्थापित भएका छन् ।
सघका अध्यक्ष शिव शङ्कर शाहले सुरुमा ६७ वटा फर्म आबद्ध भएर सघ स्थापना गरिएकामा हाल ४८ फर्म मात्र सञ्चालनमा छन् । “अटोमोबाइलका १९ वटा व्यवसाय बन्द हुँदा प्राविधिक र श्रमिकले पनि रोजगारी गुमाएका छन्”, उहाँले भन्नुभयो, “पहिले करिब ५ सय जना यस क्षेत्रमा कार्यरत थिए, अहिले जम्मा २ सय २५ जनाले मात्र रोजगारी पाएका छन् ।” खस्कँदो व्यापारका कारण व्यवसायी पलाउन हुने क्रम अझै नरोकिएको अध्यक्ष शाहले बताउनु भयो । अटोमोबाइल क्षेत्रका व्यवसायीको संरक्षणका लागि राज्यले उपयुक्त नीति र कार्यक्रम ल्याउनुपर्ने उहाँको माग छ ।
व्यवसायी पलायन हुने अवस्था कायमै रहेका कुनै दिन अटोमोबाइल व्यवसाय नै सकंंटमा पर्ने धेरैको भनाइ छ । स्थानीय स्तरमा रोजगारी सिर्जना गरी युवा पलायनलाई कम गर्न थोरै भए पनि योगदान पु¥याइरहेका अटोमोबाइल व्यवसायीको हितमा स्थानीय तहले पनि आवश्यक सहयोग गर्नुपर्ने अध्यक्ष शाहको भनाइ छ । “व्यवसायी पलायनको दर हेर्दा चिन्ताजनक अवस्था छ । सघमा गाडी, मोटरसाइकल लगायत अटो क्षेत्रका व्यवसायी आबद्ध छन् । अटोमोबाइल मात्र नभएर अन्य क्षेत्रमा पनि आर्थिक मन्दीले प्रत्यक्ष असर पु¥याएको छ । सटर भाडा समेत तिर्न नसकेर व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा कतिपय व्यवसायी पुगेका छन् । त्यसैले सरकारले सहुलियत र प्रोत्साहनका कार्यक्रम ल्याएर व्यवसाय संरक्षण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।
बुधबार सघले सदरमुकाममा सञ्चालित ग्यारेज र वर्कशपहरूलाई सरसफाइका लागि डस्टबिन वितरण गर्ने कार्यक्रममा धेरैजसो व्यवसायीले यस्तै गुनासो गरेका थिए । त्यस अवसरमा बागलुङ नगरपालिका प्रमुख वसन्त कुमार श्रेष्ठले ‘सफा बागलुङ नगर’को अभियानलाई सघाउन नगरवासी समक्ष आग्रह गर्नुभयो । उहाँले व्यवसायीका समस्याबारे आफूहरूको ध्यानाकर्षण भएको बताउनुभयो ।




.gif)





