images

२०८३ आश्विन २५ गते

images
images
images

जेठमा घरजग्गा कारोबार गर्नेले लिए १२ अर्ब कर्जा, ३ क्षेत्र अझै ऋणात्मक

जेठमा घरजग्गा कारोबार गर्नेले लिए १२ अर्ब कर्जा, ३ क्षेत्र अझै ऋणात्मक

images
images
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
  • बैंक तथा वित्तीय क्षेत्रबाट रियलस्टेट क्षेत्रमा जाने कर्जा बढेको छ। 

    images
    images

    वैशाखसम्म रियलस्टेटमा ०.२ प्रतिशतले ऋणात्मक देखिएको कर्जा प्रवाह जेठ महिनामा ४.३ प्रतिशतले बढेको हो।

    गत वर्षको तुलनामा चालू आवमा रियलस्टेट क्षेत्रमा जाने कर्जा प्रवाह निरन्तर ऋणात्मक रहँदै आएको छ। तर जेठमा भने कर्जा प्रवाह बढ्दा ४.३ प्रतिशत वृद्धिदर देखिएको हो।  

    images
    images

    नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले रियलस्टेट क्षेत्रमा २ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

    गत वैशाखसम्म बैंक तथा वित्तीय संस्थाहरुले यो क्षेत्रमा २ खर्ब ४८ अर्बको कर्जा प्रवाह गरेकोमा जेठ महिनामा यस्तो कर्जा १२ अर्बले बढेको छ। 

    आर्थिक सुस्तताका बीच व्यावसायिक रुपमा घरजग्गा कारोबार गर्नेहरुले कर्जा लिनसकेका थिएनन्। तर जेठमा भने बढेको छ।  

    समग्रमा आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा कर्जा प्रवाहमा देखिएको वृद्धिले यो क्षेत्र थप चलायमान हुनथालेको संकेत गरेको छ।

    हाल बैंक तथा वित्तीय क्षेत्रले १२ प्रकारका ऋण प्रवाह गर्दै आएका छन्। यसमा रियलस्टेटको कर्जा प्रवाहमा सुधार देखिएको छ भने सेयर धितोमा, आयात र आवधिकसहित ९ वटामा क्षेत्रमा कर्जा प्रवाह बढ्दा ३ वटा क्षेत्रमा ऋणात्मक देखिएको छ। हायर पर्चेज, ओभर ड्राफ्ट र चालू पँुजी कर्जा प्रवाह ऋणात्मक देखिएका छन्। 

    गत वर्षको सोही अवधिमा प्रवाहित कर्जाको तुलनामा चालू आवको जेठ मसान्तसम्म ओभर ड्राफ्ट कर्जा ४३.४ प्रतिशत, चालू पुँजी कर्जा १३.७ प्रतिशत र हायर पर्चेज कर्जा २१.२ प्रतिशतले घटेको छ। 

    ओभर ड्राफ्ट कर्जातर्फ गत आवको ११ महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ३२ अर्ब रुपैयाँ ऋण लगानी गरेकोमा चालू आवको सोही अवधिमा १ खर्ब ३१ अर्ब रुपैयाँ मात्रै ऋण प्रवाह गरेका छन्। 

    यस्तै गत वर्ष सोही अवधिमा ९ खर्ब ७२ अर्ब चालू पुँजी कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाहरुले चालू आवको सोही अवधिमा ७ खर्ब ५९ अर्ब रुपैयाँ मात्रै प्रवाह गरेका हुन्। 

    यस्तै हायर पर्चेजमा भने गत वर्ष १ खर्ब ३६ अर्ब ऋण प्रवाह भएकोमा चालू आवको सोही अवधिमा १ खर्ब २५ अर्ब रुपैयाँ मात्रै ऋण प्रवाह भएको छ। 

    यीबाहेकका क्षेत्रमा भने ऋण प्रवाह बढेको छ। चालू आवको ११ महिनामा आवधिक कर्जामा १९.६ प्रतिशतको वृद्धि देखिएको छ भने क्यास क्रेडिट लोन २३.६ प्रतिशतले बढेको छ।

    योबाहेक आयात कर्जामा ७.२ प्रतिशत, व्यक्तिगत आवासीय घरकर्जामा १०.७ प्रतिशत, सेयर धितो कर्जामा १४.२ प्रतिशत, पिछडिएको क्षेत्रलाई प्रवाह गर्ने कर्जामा ०.७ प्रतिशत, बिल पर्चेजमा ५७.४ प्रतिशत र अन्यमा २.१ प्रतिशतले कर्जा प्रवाह बढेको छ। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend