images

२०८३ आश्विन २५ गते

images
images
images
  • अर्थतन्त्र
  • विराटनगर महानगरपालिकाको आन्तरिक आम्दानी घट्दो ,पदाधिकारीले...

विराटनगर महानगरपालिकाको आन्तरिक आम्दानी घट्दो ,पदाधिकारीले चलाए एक वर्षमा ६० लाखको इन्धन

विराटनगर महानगरपालिकाको आन्तरिक आम्दानी घट्दो ,पदाधिकारीले चलाए एक वर्षमा ६० लाखको इन्धन

images
images
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
  • विराटनगर महानगरपालिकाको आन्तरिक आम्दानी घट्दो क्रममा छ । चालु आर्थिक वर्षमा आन्तरिक आम्दानी लक्ष्यभन्दा ११ करोड रुपैयाँले घट्ने लगभग पक्काजस्तै छ  । तर, खर्च भने घटेको छैन । 

    images
    images

    खर्च कटौती गर्न श्वेतपत्र सार्वजनिक गरेर काम थालेका महानगरका पदाधिकारीले गर्ने फजुल खर्चको अवस्था नै कहाली लाग्दो देखिएको छ ।

    महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा महानगरका मेयर उपमेयरले मात्रै झन्डै ६० लाख रुपैयाँ बराबरको इन्धन खर्च गरेको उल्लेख छ । गत आवमा २०७९/२०८० मा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलगायत पदाधिकारीले ५९ लाख ९९ हजार १९६ रुपैयाँको इन्धन जलाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

    images
    images

    महानगरपालिकाका पदाधिकारीले मात्र होइन महानगरका कर्मचारीले पनि गत वर्ष  १ करोड रुपैयाँभन्दा बढीको पेट्रोल तथा डिजेल जलाएका छन् । महालेखाको प्रतिवेदनअनुसार उनीहरूले १ करोड ६ लाख ९५ हजार ९२७ रुपैयाँको पेट्रोल जलाएका हुन् । महानगरपालिकाले एक आर्थिक वर्षमा इन्धनमा मात्रै जम्मा १ करोड ६६ लाख ९५ हजार ९६ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । 

    महानगरमा ५ वटा गाडी, दमकल ५ वटा, लोडर दुईवटा, बु्रमर, ट्रिपर, नगर प्रहरी भ्यान, एम्बुलेन्स, शव वाहन, विद्युतीय हाइड्रोलिक गाडी, वाटर ट्यांक एक एक थान रहेका छन् । मोटरसाइकल ३४ वटा र १० वटा स्कुटर रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ  । 

    यस्तै महानगरले सवारी साधन शीर्षकमा ६८ लाख ६९ हजार २४७ रुपैयाँ खर्च गरेको छ । मेसिनरी औजार मर्मत शीर्षकमा ६७ लाख ५९ हजार ३० रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । यी दुई शीर्षकमा महानगरले १ करोड ४५ लाख २८ हजार २७७ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । 

    तर, महानगरको आन्तरिक राजश्वमा भने गिरावट आएको छ । चालु आवको सोमबारसम्ममा ५३  करोड राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ६४ करोड रुपैयाँ राजश्व आम्दानी गरेकोमा चालु आर्थिक वर्षमा महानगरको आम्दानीमा भारी गिरावट आएको हो । 

    चालु वर्षमा ८७ करोड रुपैयाँ राजश्व आम्दानी गर्ने अनुमान गरेको महानगरले जेठ मसान्तसम्म ५३ करोड मात्र राजश्व संकलन गरेको राजश्व महाशाखाका प्रमुख सरोज गौतमले जानकारी दिए । 

    आन्तरिक राजश्व बढाउन महानगरले चालु वर्षको कर तथा राजश्वको दरमा हेरफेर र क्षेत्र विस्तार गरेको भए पनि राजश्व वृद्धिमा भने महानगर चुकेको छ । गत आर्थिक महानगरले आगामी आर्थिक वर्ष चालु वर्षभन्दा ८ करोड बढी राजश्व संकलन हुने भन्दै १ अर्ब १० करोड आन्तरिक आय गर्ने अनुमान गरेको छ । तर, यो पनि लक्ष्यमा पुग्न समस्या हुने कर्मचारीहरू बताउँछन् । 

    घरजग्गामा पासबाट प्राप्त हुने राजश्व घट्नु नै आन्तरिक आम्दानी कम हुनुको मुख्य कारण भएको महानगरपालिका कर्मचारीहरू बताउँछन् । महानगरमा ४० प्रतिशत करदाताले विराटनगरमा कर नबुझाउने गरेको महाशाखा प्रमुख गौतमले बताए । ‘पहिला कुरा त विराटनगरमा जबसम्म आवश्यकता पर्दैन तबसम्म कोही पनि कर तिर्न आउँदैनन् । छोराछोरी विदेश पठाउनु पर्ने, बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा लिनुपर्ने र महानगरबाट केही सेवा सुविधा लिनु पर्ने भएमा मात्र कर तिर्ने प्रवृत्ति रहेको छ,’ उनले भने ।  विराटनगरका ४० प्रतिशत मानिस कर तिर्न नआउने गरेको महाशाखाका प्रमुख गौतमले बताए ।  

    संस्थागत बहाल कर संघीय सरकारले लिएका कारण पनि घटेको अनुमान कर्मचारीहरूको रहेको छ । नोबेल मेडिकल कलेज, ठूला अस्पताल, ठूल्ठूला बोर्डिङहरू कम्पनीमार्फत् दर्ता  भएका र तिनीहरूको राजश्व आन्तरिक राजश्व कार्यालयबाट उठाउनु पर्ने भएकाले पनि राजश्व घटेको राजश्व महाशाखा प्रमुख गौतमले बताए  ।

    फजुल खर्चलाई कम गर्न भनेर संघीय सरकारले भने पनि स्थानीय तहले भने त्यसलाई ध्यान दिएका छैनन् । नेता तथा मेयर उपमेयरका आसेपासेलाई समेत पेट्रोल डिजेल दिने गरेका कारणले महानगरको खर्च बढेको कर्मचारीहरू बताउँछन् । ‘कार्यालय प्रयोजनका लागि मात्रै प्रयोग गर्ने भने धेरै हुँदैन,’ एक कर्मचारीले भने ‘मेयरसावका नेतादेखि कार्यकर्तासम्म र उपमेयर साबका पनि नेतादेखि कार्यकर्ता सम्मलाई तेल दिनुपर्छ ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend