images

२०८३ आश्विन २० गते

images
images
images

आजदेखि काठमाडौँ–टीकापुर उडान सुरू

आजदेखि काठमाडौँ–टीकापुर उडान सुरू

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौँ । सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो । 

    images
    images

    पहिलो उडानमार्फत टीकापुर पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गर्नुभएको थियो । विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए । 

    त्यसअवसरमा राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौँ–टीकापुर सिधा हवाई उडान सञ्चालन गरिने बताउनुभयो । “गत निर्वाचनमा पनि मैले टीकापुर विमानस्थल सञ्चालनको प्रतिबद्धता जनाएको थिएँ, आजदेखि टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ, यसको निरन्तरताका लागि मेरो प्रयास रहनेछ ।”टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाडौँदेखि नेपालगञ्जसम्म यति एयरलाइन्समार्फत र नेपालगञ्जबाट ‘कनेक्टिङ फ्लाइट’ मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका नगरप्रमुख डगौरा थारूले जानकारी दिनुभयो । 

    images
    images

    विमानस्थलमा प्रत्येक साता आइतबार र बिहीबार काठमाडौँ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौँ उडान हुनेछ । टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको नगरप्रमुख डगौरा थारूले जानकारी दिनुभयो । “यति एयरलाइन्सले काठमाडौँ–नेपालगञ्ज र त्यहाँबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ । यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एकतर्फी भाडा रू नौ हजार निर्धारण गरिएको छ”, उहाँले भन्नुभयो । 

    उहाँले लामो प्रयासपछि विमानस्थल सञ्चालन सम्भव भएको उल्लेख गर्दै यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डे, पर्यटन राज्यमन्त्री चौधरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवाला, उद्योग वाणिज्य सङ्घ टीकापुर, व्यावसायी तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीलगायतलाई विशेष भूमिका निर्वाह गरेकामा धन्यवाद व्यक्त गर्नुभयो । 

    उक्त उडानको टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ । टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौँको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ । साथै यात्रुहरूले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन् ।  विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । टीकापुर विमानस्थलमा हाल धावनमार्गमा ग्राभेल गरिएको छ । 

    सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रूपमा विकास गर्न थप सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौँबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौँ आउने तालिका छ ।

        
    त्यसैगरी काठमाडौँदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ । यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ । साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend