images

२०८३ आश्विन २२ गते

images
images
images

चार महिनामा वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि

चार महिनामा वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं । आर्थिक वर्ष २०८१\८२ को चार महिनामा कुल वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि भई रु.५२ अर्ब ६७ करोड पुगेको छ ।

    images
    images

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.७ प्रतिशतले कमी आएको थियो । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ८.४ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १८.३ प्रतिशत र ३.० प्रतिशतले कमी आएको जनाएको छ ।

    वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, तयारी पोसाक, जुस, अदुवा लगायतका वस्तुको निर्यात घटेको छ ।

    images
    images

    आर्थिक वर्ष २०८१\८२ को चार महिनामा कुल वस्तु आयात ०.२ प्रतिशतले वृद्धि भई रु.५१३ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.८ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः ०.९ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयतमा ५.० प्रतिशतले कमी आएको छ । 

    वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन, लसुन, दूरसञ्चार उपकरण तथा पार्टस्लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, हवाईजहाज स्पेयर पार्ट्स , विद्युतीय उपकरण लगायतका वस्तुको आयात घटेको छ ।

    निर्याततर्फ भैरहवा, विराटनगर, वीरगन्ज, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कञ्चनपुर, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

    आर्थिक वर्ष २०८१\८२ को चार महिनामा कुल वस्तु व्यापार घाटामा ०.३ प्रतिशतले कमी आई रु.४६० अर्ब ७२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ३.३ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.९ प्रतिशत रहेको थियो ।

    समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु.५७ अर्ब २४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.५३ अर्ब ८४ करोड बराबरको भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend