हुम्ला । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलो पटक हिमपात भएको छ । आइतबार साँझ देखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए राति देखि हिमपात सुरु भएको हो ।
आज बिहान सम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमी लगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्य चौकीमा कार्यरत लोग बोहराले बताउनु भयो । यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हुम्लीवासीले हिमपात पछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् ।
हिमपात पछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारी लगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपात सँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरी सकेको छ ।




.gif)





