images

२०८३ आश्विन २० गते

images
images
images

कन्याममा बनेको ‘टि टेस्टिङ एन्ड प्रोमोसन सेन्टर’ २७ मंसिर देखि सञ्चालनमा

कन्याममा बनेको ‘टि टेस्टिङ एन्ड प्रोमोसन सेन्टर’ २७ मंसिर देखि सञ्चालनमा

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं, २० मंसिर । सूर्योदय नगरपालिका–७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एन्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ । कोसी प्रदेश सरकार र नगरपालिकाको २३ करोड रुपैयाँ लगानीमा बनेको उक्त सेन्टर यही २७ मंसिरदेखि सञ्चालनमा आउन लागेको हो ।

    images
    images

    नगरप्रमुख रणबहादुर राईले २७ मंसिरमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । ‘उद्घाटनमा प्रदेशका अन्य मन्त्रीहरू पनि आउनुहुन्छ,’ उनले भने, ‘यो मुलुकको पहिलो चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र हो, केन्द्रको पूर्वाधार निर्माणको सबै काम सम्पन्न भएको छ ।’

    अहिले सेन्टरको भौतिक पूर्वाधार तयार भएको भन्दै आवश्यक उपकरणसमेत जडान भएका नगरप्रमुख राईले जानकारी दिए । उनका अनुसार केन्द्रमा चिया चाख्ने (टि टेस्टिङ) को काम हुनेछ भने चिया अनुसन्धानका लागि भौतिक पूर्वाधार तयार छ ।

    images
    images

    ‘आवश्यक थप उपकरण व्यवस्थापन गरिँदैछ । इलामका लागि मात्र होइन, यो सेन्टर देशका लागि पनि नमुना हुने विश्वास लिएका छौं,’ नगर प्रमुख राईले भने, ‘चियाको स्वाद, गुणस्तर जाँच देखि चिया सम्बन्धी सबै किसिमका अध्ययन यही केन्द्रमा हुनेछ ।’

    केन्द्रमा विश्वभरका जोसुकै चिया व्यापारी वा टी–इन्स्पेक्टर (चियाविज्ञ) ले चियाको गुणस्तर जाँच गर्न सक्ने उनले बताए ।

    कन्याम घुम्न आउने पर्यटकले थरिथरिका चियाका स्वाद लिन पाउने नगर कार्यालयले जनाएको छ । सेन्टर सञ्चालनका लागि नगरले कार्यविधि तयार गरेको छ । नगरप्रमुख राईले टि टेस्टिङ नगरअन्तर्गत हुने बताउँदै अनुसन्धानको काम भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले गर्ने जानकारी दिए ।

    चिया रोप्न सुरु भएको करिब एक सय ६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसानमा उत्साह थपिएको छ  । चिया किसान मनोज भट्टराईले केन्द्र स्थापना पछि चियामा लाग्ने स–साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताए । चिया प्राविधिक समेत गाउँमा उत्पादन गर्न केन्द्रले मद्दत गरेमा किसानलाई थप सहज हुने उनको भनाइ छ ।

    ‘यहाँ सामान्यतया चिया प्रशोधन कम हुने, उत्पादन भएको चिया परम्परागत शैलीमा टिप्ने र प्रशोधन हुँदै आएको छ । अनुसन्धान केन्द्रले चियामा नयाँ आयाम स्थापना गर्न मद्दत पुग्ने आशा छ,’ भट्टराईले भने । चियाका लागि प्रख्यात इलामको कन्याम चियाबारी बीचमा निर्मित केन्द्रमा पर्यटक थप आकर्षित हुने विश्वास लिइएको उनले बताए ।

    केन्द्र चियाको व्यापार प्रवर्द्धनमा सहयोगी बन्ने कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर राना मगरले बताए ।‘अहिले गुणस्तरीय चिया जाँच गर्ने, यसको व्यापार र गुणस्तर प्रवर्द्धन गर्न किसानलाई समस्या भइरहेको छ,’ उनले भने, ‘अब कन्याममा मुलुकको नमुनाका रूपमा अनुसन्धान केन्द्र स्थापना भएको छ ।’

    चिया उत्पादनका हिसाबले इलाम महत्त्वपूर्ण र उर्वरभूमि मानिन्छ । सूर्योदय नगरपालिकालाई चियाको राजधानीका रूपमा चिनिएको छ । यहाँ अनुसन्धान केन्द्र स्थापना भएपछि नेपाली चिया सम्बन्धी अनुसन्धान गर्न चाहनेलाई सहज हुने जनाइएको छ  ।

    ‘स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्ने आउने हुँदा हाम्रो जिल्लामा पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा छ,’ किसान धिरज अधिकारीले भने ।

    नगरपालिका कोसी प्रदेशको पर्यटकीय नगरी भएकाले पनि केन्द्र स्थापनापछि पर्यटक आगमन बढ्ने उनले बताए ।

    केन्द्र निर्माणले समग्र जिल्लाको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकार भएकाहरू बताउँछन् । नगरपालिकामा अन्य ठूला लगानीका आयोजनामध्ये कुनै निर्माणको अन्तिम चरणमा छन् भने कुनै निर्माण भइरहेका नगरप्रमुख राईले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय दाता मार्फत केही ठूलो लगानीका आयोजना आउने चरणमा छन् ।

    जिल्लामा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको जनाइएको छ  ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend