images

२०८३ कार्तिक १४ गते

images
images
images

बुढीगण्डकीमा काठेपुल बनेपछि हुलचुकका बासिन्दालाई राहत

बुढीगण्डकीमा काठेपुल बनेपछि हुलचुकका बासिन्दालाई राहत

images
images
मंगलवार, कार्तिक १० २०८३
मंगलवार, कार्तिक १० २०८३
  • गोरखा । बुढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण १५ दिनदेखि आवतजावतमा समस्या झेलिरहेका गोरखाको धार्चे गाउँपालिका–१ हुलचुकका बासिन्दाले अस्थायी काठेपुल निर्माणपछि राहत पाएका छन्। स्थानीयले सोमबार काठेपुल (फड्के) निर्माण गरेपछि नदी वारपार गर्न सहज भएको हो।

    images
    images

    गत असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीले मुख्य पदमार्गसँगको सम्पर्क विच्छेद गराएपछि हुल्चुक, खोत्राङ र उहियालगायत बस्तीका करिब २०० घरधुरी प्रभावित भएका थिए। बाढीले दोभान खोला जलविद्युत् आयोजनाले हालै निर्माण गरेको बेलिब्रिज र नजिकै रहेको झोलुङ्गे पुलसमेत बगाएको थियो।

    धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार धार्चे–१ हुल्चुक र धार्चे–३ उहिया खोत्राङ जोड्ने गरी स्थानीय स्रोतसाधनको प्रयोग गरेर अस्थायी काठेपुल निर्माण गरिएको हो। गाउँपालिकाको विपद् कोषबाट खर्च व्यहोर्ने गरी स्थानीय बासिन्दा आफैँ निर्माणमा जुटेका थिए।

    images
    images

    पुल नहुँदा नदी वारपार गर्न एक दिन घुमेर जानुपर्ने बाध्यता रहेको अध्यक्ष गुरुङले बताए। करिब दुई सातासम्म बाटो अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या भएको थियो। खाद्यान्न अभाव हुन नदिन सरकारले ड्रोनमार्फत केही सामग्री ढुवानी गरे पनि त्यो पर्याप्त हुन नसकेको उनले बताए।

    काठेपुल निर्माण भएपछि अहिले स्थानीय बासिन्दा, चौपाया तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न सहज भएको छ। बाढीका कारण लामो समयदेखि आवागमनमा समस्या झेलिरहेका स्थानीयलाई यसले तत्काल राहत दिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए।

    उनका अनुसार तत्काल स्थायी पुल निर्माण गर्न सम्भव नभएपछि परम्परागत प्रविधि र स्थानीय स्रोतसाधनको प्रयोग गरेर फड्के निर्माण गरिएको हो। यसले आगामी जेठ–असारसम्म आवतजावतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    तर, काठेपुललाई दीर्घकालीन समाधानका रूपमा लिन नसकिने अध्यक्ष गुरुङको भनाइ छ। वर्षायाममा बाढीले फेरि पुल बगाउन सक्ने जोखिम रहेकाले बुढीगण्डकी नदीमा स्थायी पक्की पुल निर्माणका लागि संघीय सरकारसँग माग गरिएको उनले बताए।

    अस्थायी काठेपुलले तत्कालको समस्या समाधान गरे पनि बाढी प्रभावित बस्तीको सुरक्षित र दिगो आवागमन सुनिश्चित गर्न स्थायी पुल निर्माणमा सरकारले प्राथमिकता दिनुपर्ने स्थानीयको अपेक्षा छ।तस्बिर: शिव उप्रेती

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend