काठमाडौं, कात्तिक ६ । नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध र प्रभावित रहेको जनाएको छ।
नेपाल प्रहरीका अनुसार गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८, बेनीमा बीरेठी क्षेत्रमा बाढीका कारण बेनी–जोमसोम सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–३ र ५ अन्तर्गत पर्ने आरुघाट आसपासका क्षेत्रमा बाढीका कारण सडक प्रभावित भएको छ। उक्त क्षेत्रमा पूर्ण रूपमा सडक अवरोध रहेको छ भने गोरखाकै आरुघाट गाउँपालिका–८, नौलीपुलस्थित सडकखण्डमा बाढीका कारण सानो सवारी साधन मात्र सञ्चालन गर्न सकिने अवस्था रहेको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–८, ओल्टी क्षेत्रमा पहिरोका कारण कर्णाली राजमार्ग प्रभावित भएको छ। उक्त सडकखण्डमा पनि एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
प्रहरीले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न यात्रु र सवारी चालकलाई आग्रह गरेको छ।
मुख्य राजमार्गको अवरोध तथा सडकको अवस्थासम्बन्धी थप जानकारी नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उपलब्ध छ।





.gif)





