images

२०८३ कार्तिक ८ गते

images
images
images

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

images
images
शुक्रवार, कार्तिक ७ २०८३
शुक्रवार, कार्तिक ७ २०८३
  • चितवन, ६ कात्तिक । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासले यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ । 

    images
    images

    गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षमा दसैँ बिदामा पर्यटकीय गन्तव्यमा चहलपहल निकै हुने गरेको थियो । 

    यहाँको पर्यटकीय गन्तव्य सौराहामा यस वर्षको दसैँमा अहिलेसम्म उत्साहजनक रुपमा आन्तरिक पर्यटक आएका छैनन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे आफ्नो सौराहाको होटल ल्याण्डमार्कमा बिहीबार ७५ कोठामध्ये सात मात्रै बुक भएको बताएका छन् । उनले भने, “सौराहा मात्रै होइन, निकै चहलपहल हुने पोखरामा पनि यस वर्ष विगतजस्तो आन्तरिक पर्यटक छैनन् ।”

    images
    images

    वर्षाका कारण पुनःबाटो अवरुद्ध हुने डर आन्तरिक पर्यटकलाई भएको उनको अनुमान छ । यससँगै भोटेकोशी र बूढीगण्डकी बाढीका कारण धेरै जनधनको क्षतिका कारण नेपालीले यस वर्ष उत्साहपूर्ण दसैँ नमनाएको उनको भनाइ छ । 

    अबका दिनमा क्रमशः पर्यटक बढ्ने उनले अपेक्षा व्यक्त गरेका छन् । भोटेकोशी बाढीपछि सारिएका बुकिङ क्रमशः हुन थालेको उनले बताएका छन् । नयाँ बुकिङ आउन थालेकाले दसैँसँगै आन्तरिक र बाह्य पर्यटक बढ्ने उनको अनुमान छ । 

    होटल व्यवसायी सुमन घिमिरे आज शुक्रबार भएकाले अब क्रमशः सौराहामा आन्तरिक पर्यटक बढ्दै जाने बताएका छन् । उनले भने, “अब क्रमशः पर्यटक बढ्नेमा हामी विश्वस्त छौँ ।” 

    शुक्रबार, शनिबार र आइतबार धेरै होटल भरिने अनुमान गर्दै उनले भने, “दसैँ बिदा भएकाले आन्तरिक पर्यटकले सौराहा भरिन्छ भन्नेमा हामी आशावादी छौँ ।” 

    विगतका वर्षमा जस्तो चहलपहल अहिलेसम्म सौराहामा भई नसकेको उनले बताएका छन् । अब पर्यटक बढ्न थालेपछि क्रमशः वैशाखसम्म आगमन हुने उनी बताएका छन् । उनले भने, “पर्यटक बढेपछि क्रमशः बढ्ने र उच्च विन्दुमा पुगेर तल झर्ने गर्दछ ।” 

    होटल भिष्टाका सञ्चालक रमेश सिलवाल दसैँसँगै आन्तरिक पर्यटक आउने आफूहरु आशावादी भएको बताउनुहुन्छ । दसैँको समयमा विदेशी पर्यटक केही आएको उनले बताएका छन् । भारतीयसहित अन्य देशबाट पर्यटकले सोधपुछ र बुकिङ गर्न थालेको उनको भनाइ छ । 

    व्यवसायी विदेशी पर्यटकको संख्या अब बढ्नेमा विश्वस्त छन् । भोटेकोशी बाढीको समयमा वर्षापछिको याम भएकाले धेरै पर्यटकको बुकिङ भए पनि रद्द हुँदा ठूलो नोक्सानी व्यवसायीहरुले व्यहोरेका थिए । 

    वनबास रिसोर्ट सौराहाका महाप्रबन्धक प्रकाश न्यौपाने दसैँको समयमा आफ्नो होटलमा विदेशी पर्यटकले भरिएको बताएका छन् । उनले भने, “गएको तीन दिन मेरो होटल विदेशी पर्यटकले भरिएको छ ।” जर्मन, डेनमार्क, बेल्जियम, अष्ट्रेलियन र अमेरिकन आएको उनी बताएका छन् । 

    स्वदेशी पर्यटकको बुकिङ भने कमजोर रहेको जनाउँदै उनले अबका दिनमा पर्यटक बढ्नेमा आफू आशावादी भएको बताएका छन् । भोटेकोशी बाढीपछि रोकिएका पर्यटक आउन थालेको उनले बताएका छन् । उनले भने, “जति नेपाल आएका छन् विगतमा जस्तैगरी उनीहरु सौराहा पनि आउन थालेका छन् ।”

    चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा छ । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटक धेरैजसो सौराहा बस्ने गर्दछन् । यससँगै भरतपुरको पटिहानी, जगतपुर, मेघौलीलगायत क्षेत्रमा ती पर्यटक बस्ने गर्दछन् । तिनै क्षेत्रबाट हात्ती, जिप, डुङ्गा, पैदल निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्न उनीहरु रुचाउँछन् । एकसिङ्गे गैँडा, पाटेबाघजस्ता दुर्लभ वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् । 

    देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनलाई सफारी पर्यटनमा एक नम्बर मानिन्छ । यहाँ थारु संस्कृति हेर्न पनि पर्यटक आउने गर्दछन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend