काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय, बबरमहलले समस्याग्रस्त सहकारी संस्थाहरूको नाममा दर्ता भएका सम्पूर्ण सवारी साधनहरू तत्काल बुझाउन सूचना जारी गरेको छ। नेपाल सरकारबाट समस्याग्रस्त घोषित संघ-संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी जिम्मेवारी सहकारी ऐन, २०७४ को दफा १०५ अनुसार गठित समितिले उक्त निर्देशन दिएको हो। समितिले जारी गरेको सूचना अनुसार सरकारबाट समस्याग्रस्त घोषणा भएका सहकारी तथा तिनले लगानी वा सञ्चालन गरेका संस्थाहरूको नाममा दर्ता भएका ढुवानी प्रयोजनका समेत सबै प्रकारका सवारी साधनहरू जहाँ जुन अवस्थामा छन्, सोही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याएर बुझाउनुपर्नेछ।
तोकिएको समयमा सवारी साधन नबुझाए सहकारी ऐन, २०७४ को दफा १०६ को अधिकार प्रयोग गरी कडा कारबाही गरिने समितिले चेतावनी दिएको छ। सवारी साधनका प्रयोगकर्ता वा सम्बन्धित व्यक्ति वा संस्थाको नाममा रहेको घरजग्गा, बैंक खाता, लकर तथा राहदानीसमेत रोक्का राखी प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरिने सूचनामा उल्लेख छ। समितिले सूचनामार्फत सवारी साधन बुझाउनुपर्ने समस्याग्रस्त सहकारीहरूको नामावली पनि सार्वजनिक गरेको छ। जसमा स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट को-अपरेटिभ, सोसाइन्टल बचत तथा ऋण सहकारी, प्रभु बचत तथा ऋण सहकारी, लु:निभा बहुउद्देश्यीय सहकारी, ओरिएन्टल को-अपरेटिभ, कन्ज्युमर बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी, पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, तुलसी बहुमुखी सहकारी, शिवशिखर बहुउद्देश्यीय सहकारी र हाम्रो नयाँ कृषि सहकारी संस्था रहेका छन्।
यसैगरी कृषि विकास बहुउद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी र नेपाल सहकारी वित्तीय संस्थाका नाममा रहेका सवारी साधन पनि बुझाउन भनिएको छ। आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा समाहित भएका घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आईडल यमुना बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी र हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाका सवारी साधनहरू पनि तत्काल बुझाउनुपर्नेछ। यससम्बन्धी अन्य विस्तृत जानकारी समितिको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।





.gif)





